पर्वतको पाखापानीकी सपना क्षेत्रीको यो दर्दनाक पिडा, बिहे गरेको  ४ महिनामा नै सिन्दुर पुछियो - News site from Nepal

पर्वत – पर्वतको महाशिला गाउँपालिका ४ पाखापानी धुँवाकोट गाउँ यतिखेर शोकमा डुबेको छ । गएकाे शुक्रबार बिजुलीको खम्बा विस्तार गर्ने क्रममा बिजुली प्रवाह भइरहेको प्रसारण लाइनमा फलामे खम्बाले छोएपछि एकै गाउँका ३० वर्षीय केशबहादुर क्षेत्री र ३१ वर्षीय सुरेन्द्र क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको थियाे ।

शुक्रबार बिहान ९ बजे गाउँकै लागि बिजुलीकाे खम्बा विस्तार गर्दै गर्दा उनीहरुसहित तीन युवालाई करेण्ट लागेको थियो । अर्का युवा भरत क्षेत्री सामान्य घाइते भएका थिए भने केशबहादुर र सुरेन्द्रको घटनास्थलमा नै मृत्यु भएको थिए ।

दुवै मृतकका शव जिल्ला अस्पताल पर्वतमा पोष्मार्टम गरी सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुलाई मोदीवेनी घाटमा शनिबार दिउँसो सामुहिक दाहसंस्कार गरिएको हो ।

कोरिया जाने तयारीमा थिए केशबहादुर

स्थायी बसोबास पाखापानी धुवाँकोट भए पनि अस्थायी रुपमा पोखरा बस्दै आएका केशबहादुर क्षेत्री कोरिया जाने तरखरमा थिए । यस अघि पाँच वर्षसम्म कोरिया बसेर फर्केर क्षेत्री फेरि भाषा परिक्षामा उत्तीर्ण भएर भिसा आउने दिन गनेर बसेका थिए ।

‘भिसा झर्न मात्रै बाँकी थियो, दैवले चुँडेर लग्यो’, मृतक क्षेत्रीका मामा चन्द्रबहादुर क्षेत्रीले भन्नुभयोऽ ‘आफू विदेश जाने भएकै कारण घरको सबै व्यवस्था मिलाउने भन्दै बिजुलीकाे खम्बा गाड्न पनि आफैँ कस्सिएका थिए, सपना अधूरै रह्यो ।’

परिवारका एक्ला छोरा क्षेत्रीको तीन वर्षीया एक छोरी, ६ महिने छोरा र श्रीमती छन् ।

बिहे गरेको  ४ महिनामा नै सिन्दुर पुछियो

मृतकमध्येका अर्का युवा ३१ वर्षीय सुरेन्द्र क्षेत्रीको विवाह गरेको ४ महिनामात्र भएकाे थियाे । दुई वर्षभन्दा बढी वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुक पुगेर फर्किएका क्षेत्री झण्डै १० महिनादेखि घरमै बस्दै आएका थिए । उनले गएकाे वैशाखमा मात्रै विवाह गरेका थिए । उनी पनि परिवारका एक्ला छोरा हुन् ।

उनको मृत्युपछि परिवारको आशा नै मेटिएको छ । बाबु शेरबहादुर क्षेत्री, आमा लीला क्षेत्री र श्रीमती सपना क्षेत्री अर्धचेत अवस्थामा छन् ।

पाखापानी सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत युवाहरु खम्बा गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल युक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।

विद्युत प्रसारण लाईनको लत्रिएको तारमा फलामे पोलले छुँदा उनीहरुको मृत्यु भएको हो । विगत देखि नै लुखंदेउराली विद्युत सब स्टेशनमा लत्रिएको तारलाई व्यवस्थित गर्न आग्रह भएपनि विद्युत तार व्यवस्थापन नगरिँदा यस्तो घटना घट्न पुगेको मृतक केशबहादुरका मामा चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!