बर्षाले रोकियो मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्ने काम , पोखरा – बागलुङ खण्डमा यात्रा अझै असहज - News site from Nepal

पर्वत /भदौको तेस्रो साता देखि शुरु भएको निरन्तरको बर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहको पुष्पलाल मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेश खण्ड निर्माण कार्य पुर्णरुपमा प्रभावित भएको छ।
लगातारको भदौरे झरीका कारण लोकमार्गको पर्वत देखि कास्की खण्डमा शुरु भएको कालोपत्रे गर्ने कार्य प्रभावित बनेको हो ।
कालोपत्रे शुरु भएका बेला झरी परेपछि कामकाज ठप्प भएको छ । मध्यपहाडी क्षेत्र भएर नेपालको पूर्व पश्चिम जोड्नेगरी निर्माण सुरु गरिएको लोकमार्गको गण्डकी प्रदेश खण्डमा पर्ने गोरखाको आरुघाटदेखि बागलुङको निसीखोलासम्मको करिब ३ सय ५३ किलोमिटर सडक निर्माण तिव्र गतिमा पारिएको थियो । लोकमार्गमा सबैभन्दा महत्वपुर्ण रुपमा हेरिएको पोखरा –बाग्लुङ्ग सडक खण्डमा दशैं अगाबै धेरै स्थानमा कालोपत्रे गर्ने तयारी थालिएको थियो । पर्वतको मालढुंगा देखि कुस्मा सम्म ८ किलोमिटर र कास्कीमा पर्ने नयाँपुल देखि काँडे सम्म १५ किलोमिटर कालोपत्रे गर्ने काम दशैं अगावै सक्ने तयारी भएपनि झरीका कारण प्रभावित बनेको मध्यपहाडी लोकमार्ग आयोजना, पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो । ‘दशैं अगावै १५ किलोमिटर भन्दा बढी सडक कालोपत्रे गर्न पुरै तयारी अबस्थामा थियौ ’ उहाँले भन्नुभयो ‘दुई साता देखि परेको पानीले कालोपत्रे गर्न त दिएन, तयार बनाउँदै गरेको ठाउँमा पनि झन गाडी फस्ने समस्या भयो।’ दशैं अवागै नयाँ र पुरानो गरि कम्तीमा २० किमी सडक कालोपत्रे गर्ने लक्ष्य पुरा नहुने उहाँको भनाई छ ।
पर्वतको अँधेरीखोला देखि मालढुंगा सम्मको साढे २३ किलोमिटर सडकमा मालढुंगा देखि जिल्ला प्रहरी कार्यालय पर्वत सम्मको ८ किलोमिटरमा दशैं सम्म कालोपत्रे गर्ने तयारी भएपनि कम्तीमा ७ किलोमिटर कालोपत्रे गर्नका लागि सबै तयारी गरेर बसेको निर्माण कम्पनी लामा कन्ट्रक्सनका प्रतिनिधी दयाराम थापाले बताउनुभयो । ‘एक हप्ता देखि तयारीमा थियौ तर काम नै गर्न पाएका छैनौ’ उहाँले भन्नुभयो ‘अहिले काम गर्ने पुरै तयारीमा हुँदा मौसम बाधक बन्यो, अझै मौसममा सुधार भएमा सात किलोमिटर सक्ने लक्ष्य छ ।’
कास्कीको नयाँपुल देखि घट्टेखोला सम्म सडक कालोपत्रे गर्ने जिम्मा लिएको एपेक्स कन्स्ट्रक्सनका प्रतिनिधी काशीराज बोहरा मौसमका कारण कालोपत्रे गर्ने भन्दा पनि हिलोमा सवारीका साधन फस्ने समस्या बढेको भन्दै चिन्ता ब्यक्त गर्नुहुन्छ । उहाँका अनुसार मौसममा सुधार आउने संकेत देखेर नयाँपुल देखि काँडे सम्म सबै सडक कालोपत्रे गर्न खनिएको सडकमा फेरी सवारीका साधन रोकिने समस्या देखिएको छ । पानी नपरेको अबस्थामा ४ किलोमिटरमा दोस्रो चरणाको कालोपत्रे सक्ने र बाँकी ७ किलोमिटरमा प्रथम चरणको कालोपत्रे योजना थियो । ‘पुर्णरुपमा बर्षा नरोकिएका कारण कालोपत्रे गर्न तयार भएको सामाग्री समेत फाल्नुपर्ने अबस्थामा आएको छ,’ उहाँले भन्नुभयो ‘हिउँदमा पनि बर्षा भएर काम गर्न सकिएन, बर्षा सकिने बेलामा पनि फेरी भदौरे झरीले काम नै रोक्यो ।’ लोकमार्गको पोखरा देखि मालढुंगा खण्ड चार खण्डामा बिभाजन गरेर स्तरोउन्नतीको काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!