पर्वत / जिल्ला समन्वय समिति पर्वतको तेस्रो जिल्ला सभा सोमबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति पर्वतको सभाले जिल्ला समन्वय समितिको बजेट तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको हो ।
जिल्लासभाले संघीय सरकारबाट प्राप्त समन्वय समितिको कार्यक्रम पारित गरेको र समितीको कोषमा रहेको रकमलाई पछि बाँडफाँड गर्ने निर्णय गर्दै सभा सम्पन्न भएको प्रमुख मनोहर बिश्वकर्मा पौडेलले जानकारी दिनुभयो ।
सभाको प्रतिनिधीसभाका सदस्य पदम गिरीले उद्घाटन गर्नुभयो । उहाँले पर्वत जिल्लामा इतिहाँसमै पहिलो पटक धेरै बजेट र योजनाहरु सञ्चालनमा रहेको बताउँदै कामको गुणस्तरीयता र समयमा सम्पन्न गर्ने बिषयमा स्थानिय तहका जनप्रतिनिधीहरु चनाखो हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले बिकासले असोज देखि तुफानी गति लिने दाबी पनि गर्नुभयो । ‘पहिलो बर्ष संबिधान कार्यान्वयनका लागि ऐन नियम बनाउने कुरामा बितायौ’ उहाँले भन्नुभयो ‘यो बर्ष असोज देखि बिकासले तुफान जस्तै तीब गति लिन्छ’ साँसद गिरीले सरकारका बिरुद्ध बिभिन्न क्षेत्रबाट अफवाह सृजना गर्ने काम भएपछि पनि हल्लाका पछि नलाग्न आग्रह गर्नुभयो ।
पर्वत जिल्लामा सडक कालोपत्रे, सडक पुल, अग्ला र लामा झोलुङ्गेपुल, एक घर एकधारा, सबै काठेपोल बिस्थापित गरि फलामे पोल बनाउने तथा चार फेज लाईन बिस्तार गर्ने काम सम्पन्न गर्ने दाबी उहाँको थियो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले जिल्लाको बिकास निर्माणको काम तथा स्थानिय तहको बजेट समयमा र सही ठाउँमा खर्च गर्ने वातावरण बनेमा पर्वतले काँचुली फेर्छ भन्नुभयो ।

जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले स्थानिय तहका कामहरुका बारेमा
समन्वय समितिले प्रभावकारी रुपमा समन्वय गर्नुपर्ने कुरामा जोड दिदै जलजला
गाउँपालिकाले बर्षाका तीन महिना नदीजन्य पर्दाथ उत्खननमा रोक लगाएपनि
कार्यान्वयन गर्न कठिन भैरहेका कारण सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।
सभामा नेकपाका जिल्ला नेता भक्त कुवँर, नेपाली कांग्रेसका जिल्ला सदस्य
डा. चुडामणी शर्मा, समाजबादी पार्टी नेपालकी देबी लामिछाने, तत्कालिन
जिल्ला बिकास समिति पर्वतका उपसभापति टिकाराम भुसाल, पर्वत उद्योग बाणिज्य
संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले सभा सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख यामकुमारी रानाले स्वागत तथा जिल्ला समन्वय अधिकारी
चिरञ्जीबि सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
पालिका प्रमुख र उपप्रमुखहरुको बेवास्ता

जिल्ला समन्वय समिति पर्वतको तेस्रो जिल्ला सभामा जिल्लाका अधिकाँश स्थानिय तहका प्रमुख र प्रतिनिधिहरुले भने बेवास्ता गरेका छन ।
जिल्लासभाका सदस्यको रुपमा अनिवार्य उपस्थित हुनुपर्ने भएपनि धेरै प्रमुख र उपप्रमुखले बेवास्ता गरेका हुन । जिल्ला सभामा स्थानिय तहका प्रमुख र उपप्रमुख सदस्य रहने ब्यबस्था छ ।
पर्वतको तेस्रो जिल्लासभामा कुस्मा नगरपालिका र पैंयुँ गाउँपालिकाका प्रमुख र उपप्रमुखले नै भाग लिएनन भने केही पालिकाका प्रमुखहरु उपस्थिति भएनन । सभामा फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका प्रमुख रामकृष्ण मल्ल, मोदी गाउँपालिका प्रमुख प्रेम पौडेल र बिहादी गाउँपालिकाका प्रमुख कमलप्रसाद भुसाल उपस्थित हुनुभएको थियो । महाशिला गाउँपालिकाका उपप्रमुख हिरादेबी राना, बिहादीकी उपप्रमुख डम्बरकुमारी गुरुङ्ग, मोदीकी उपाध्यक्ष सेती महत समेत सहभागी हुनुभएको थियो ।
कुस्माका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने कुस्माबजारमै भएपनि सभामा जानुभएन भने पैंयुँका प्रमुख र उपप्रमुख उपस्थित नहुनुको कारण खुलेको छैन । सभाको उद्घाटन कार्यक्रममा जलजला गाउँपालिकाका प्रमुख रामकृष्ण मल्ल मात्रै सहभागी हुनुभएको थियो भने समापन हुने बेला मोदीका प्रमुख र उपप्रमुख तथा बिहादीकी उपप्रमुख उपस्थित हुनुभएको थियो ।
केहीपालिका प्रमुखहरु काम बिशेषले बाहिर रहेका कारण उपस्थित हुन नसकेको र केही पालिकाका प्रमुखहरु नआउनुको कारण आफुँले बुझ्न नसकेको समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले बताउनुभयो ।






