साउन १९
प्रदेश नं. ५ र गण्डकी प्रदेशको बिचमा अवस्थित उत्तरवाहिनी क्षेत्रमा भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशको मुख्य पर्यटनको स्रोत नदीनाला भएको बताएका छन् । सर्प संरक्षण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लम्सालले परापूर्वकालमा ऋषिमुनीहरुले सर्प संरक्षण गर्न नागपञ्चमी मनाउँदै आएको बताएका छन् ।
उनी भन्छन्, ‘सर्पलाई हामीले समस्याका रुपमा लिने गरेका छौं । यसले प्रकृतिको संरक्षण गरिरहेको हुन्छ । सर्पले आँफै त्यसै कहिल्यै डस्दैन । यसले वातावरण संरक्षण गरिरहेको हुन्छ ।’ ‘गण्डकी प्रदेश नदीहरुको धनी भएकै कारण गण्डकी नामाकरण गरिएको हो । नदीनालाहरुको सही सदुपयोग गर्न सके पर्यटनको राम्रो विकास हुन्छ, पर्यटनमन्त्री लम्सालले भने, धार्मीक, सांस्कृतिक तथा पर्यटकीय विकासले देशलाई गति दिन सक्छ ।’ सर्प बचाउँ र सर्पबाट बचौं अभियान सञ्चालन गर्दै आउनुभएका धार्मीक गुरु चैतन्य कृष्णले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसका रुपमा मनाउन कार्यशाला आयोजना गरिएको बताए । उनी भन्छन्, ‘बढ्दो शहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्ने गरेको छ । मानिस त्यसै डराउने हुनाले देख्नेबित्तिकै सर्पलाई मार्छन् । मानिसमा सर्पको आनीबानीबारे ज्ञान नहुँदा नकारात्मक सोचले सर्पको ज्यान खतरामा पर्ने गरेको छ । धार्मीक रुपमै पनि सर्प संरक्षण गर्न नागपञ्चमी मनाईंदै आएको हो । अब जुलाई २६ लाई होईन, श्रावण शुक्ल पञ्चमीलाई सर्प दिवसको रुपमा मान्यता दिनुपर्छ ।’
वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको अभियानकर्मीले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसको रुप दिन माग गरेका छन् । सर्पको धार्मिक एवं वैज्ञानिक महत्व विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी अभियानकर्मीहरु यस्तो बताएका छन् ।
सर्प विशेषज्ञ डा. देव प्रकाश पाण्डेले नागपञ्चमीलाई अन्तर्राष्ट्रिय सर्प दिवसको रुपमा मनाउनु आवश्यक रहेको बताए । ‘सर्पको विषयमा अध्ययन गर्दै जाँदा अधिकांश सर्पहरु विषालु हुँदैनन् । विषालु सर्पले टोक्दैमा पनि अचानक मृत्यु हुँदैन । असावधानीका कारण समस्या निम्तने हो, डा. पाण्डेले भने, हामीले पहिलेदेखी नै घरमा नागराजको पूजा त्यसै गर्दै आएका होईनौं । प्रकृति र यहाँका जीवजन्तुलाई पनि उत्तिकै माया गर्नुपर्छ । यसको वैज्ञानिक महत्व छ ।’
कार्यक्रममा गल्याङ्ग नगरपालिकाका मेयर भूपराज अधिकारी, भिरकोट नगरपालिका मेयर छायाराम खनाल, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारी लगायतले सर्प संरक्षण अभियान सार्थक रहेको बताएका थिए ।
कृषि तथा वन विश्वविद्यालय, रामपुर चितवनकी डीन शारदा थपलियाले सर्प त मानिसको शत्रु नभई मित्र भएको बताईन् । सर्पको विषले औषधि बन्छ । मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिक चक्रमा ठूलो भूमिका खेल्छ । सर्प मांसाहारी घस्रने प्रजातिमा पर्छ । कार्यशाला सोमबारसम्म सञ्चालन हुदैंछ । कार्यशालामा देशभरका ५० बढी अभियानकर्मीहरुको सहभागीता रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले जनाएको छ । कार्यशालाबाट सर्प बचाउनका लागि घोेषणापत्र तयार गरिने बताईएको छ ।






