पर्वत १० असार — पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, युवा स्वरोजगार र विपद् व्यवस्थापनलाई केन्द्रमा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गाउँपालिकाकाे बुधबार सम्पन्न २१ ओैं गाउंसभामा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा गाउँपालिकाले समुन्नत र समृद्ध जलजला निर्माण गर्ने लक्ष्यसहित स्थानीय स्रोत, सम्भावना र आवश्यकतामा आधारित कार्यक्रम अघि सारेको हो।
नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिइएको छ। विद्यालयमा डिजिटल शिक्षण प्रणाली विस्तार, स्मार्ट बोर्ड जडान, शिक्षक क्षमता विकास, विज्ञान तथा प्रविधिमैत्री शिक्षा र विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने कार्यक्रम समेटिएका छन्। विद्यालय छाड्ने दर न्यूनीकरण, बालबालिकालाई विद्यालयमा टिकाइराख्ने तथा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना प्रविधि पूर्वाधार विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा लिँदै गाउँपालिकाले सुन्तला, आलु, किवी, तरकारी तथा फलफूल उत्पादन वृद्धि गर्ने कार्यक्रम ल्याएको छ। ‘बाँझो जमिन होइन, उत्पादनशील भविष्य हाम्रो’ अभियानमार्फत बाँझो जमिनको उपयोग, कृषि यान्त्रिकीकरण, किसानलाई प्राविधिक सेवा, बिउबिजन तथा कृषि बीमामा सहजीकरण गरिने भएको छ। कृषि उत्पादनको बजारीकरण, ब्रान्डिङ तथा मूल्य शृङ्खला विकासमा समेत जोड दिइएको छ।
पशुपालन क्षेत्रलाई सुदृढ बनाउन दूध, मासु र अण्डामा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ। दुर्गम बस्तीमा ‘एक वडा, एक प्राविधिक’ कार्यक्रममार्फत पशु स्वास्थ्य सेवा विस्तार गरिने जनाइएको छ।
पर्यटन प्रवर्द्धनका लागि धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकतामा राखिएको छ। गण्डकी गोपाल गोशाला, मल्लाज दरबार, राममन्दिर, शिवालयलगायत धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र पर्यटन पूर्वाधार विकास गरिने भएको छ। ‘एक वडा, एक पदमार्ग’ तथा ‘एक वडा, एक झोलुङ्गे पुल’ कार्यक्रम सञ्चालन गरी पर्यटकीय गन्तव्यसँग पहुँच विस्तार गर्ने योजना पनि समेटिएको छ।
युवा तथा खेलकुदतर्फ स्वरोजगार र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गरिने भएका छन्। विदेशबाट फर्किएका युवाको सीप र अनुभवलाई स्थानीय आर्थिक विकासमा उपयोग गर्ने, विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने तथा खेलकुद पूर्वाधार विस्तार गर्ने नीति लिइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ पालिका अस्पताल सञ्चालन, स्वास्थ्य चौकी स्तरोन्नति, निःशुल्क स्वास्थ्य परीक्षण, पोषण सुधार, मानसिक स्वास्थ्य परामर्श तथा किशोरकिशोरी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय लक्षित कार्यक्रम पनि समेटिएका छन्।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन समुदायमा आधारित पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना, कृत्रिम अभ्यास (मक ड्रिल), खोज तथा उद्धार टोली परिचालन र आवश्यक सामग्रीको पूर्वव्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ।
गाउँपालिकाले सडक, सिँचाइ, खानेपानी, विद्युत्, पर्यटन तथा अन्य भौतिक पूर्वाधार निर्माण र स्तरोन्नतिलाई पनि प्राथमिकता दिएको छ। सार्वजनिक, निजी र सहकारी क्षेत्रको साझेदारीमा स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्दै ‘समुन्नत जलजला, सुखी जलजलावासी’ को लक्ष्य हासिल गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ।






