फलेवासमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सुरु - News site from Nepal
फलेवासमा इलाका प्रहरी कार्यालयको भवन निर्माण सुरु

पर्वत –  जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा परिचित पर्वतको फलेवासमा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण सुरु भएको छ । स्थानीयवासीले पाँच रोपनी तीन आना जग्गा खरिद गरी प्रहरीलाई हस्तान्तरण गरेपछि भवन निर्माण प्रक्रिया अघि बढेको हो ।

फलेवास नगरपालिका–५ खानीगाउँमा निर्माण हुन लागेको भवनको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विजय यादवले शिलान्यास गर्नुभएको छ । यसअघि खानीगाउँमा अस्थायी प्रहरी पोस्टमार्फत सुरक्षा सेवा प्रदान हुँदै आएको थियो । भाडाको घरबाट सञ्चालन हुँदै आएको प्रहरी पोस्टका लागि जिल्ला प्रहरी कार्यालय पर्वतको सात लाख र फलेवास नगरपालिकाको तीन लाख रुपैयाँ गरी १० लाख रुपैयाँको लागतमा छुट्टै भवनसमेत निर्माण गरिएको छ । अब सोही स्थानमा इलाका प्रहरी कार्यालयको स्थायी भवन निर्माण हुन लागेको हो ।

भवनको शिलान्यास गर्दै प्रहरी नायव उपरीक्षक यादवले फलेवास जिल्लाकै महत्वपूर्ण व्यापारिक केन्द्र भएकाले यहाँको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यवस्थित प्रहरी कार्यालय आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फलेवासमा बढ्दो व्यापारिक गतिविधि र जनचापसँगै शान्ति सुरक्षाको जिम्मेवारी पनि बढ्दै गएको छ । प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध भएमा सेवा प्रवाह प्रभावकारी हुनुका साथै स्थानीय नागरिकले पनि सहज रूपमा सुरक्षा सेवा प्राप्त गर्न सक्नेछन् । विपद्का घटना तथा अन्य आपत्कालीन अवस्थामा तत्काल परिचालन हुन प्रहरी कार्यालयको आफ्नै भवन र आवश्यक सामग्रीको व्यवस्थापन महत्वपूर्ण हुन्छ ।”

दुई तले भवनमा हिरासत कक्ष, प्रहरी ब्यारेक, मेस र कार्यालय ब्लकसहित प्रहरी कार्यालयबाट प्रदान गरिने आवश्यक सेवा तथा सुविधाको व्यवस्था गरिनेछ । भवन निर्माण सम्पन्न भएपछि प्रहरी कर्मचारीको आवास, कार्यालय सञ्चालन र सुरक्षा व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ ।

संघीय सरकारमार्फत भवन निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो । इलाका प्रहरी कार्यालयमा २५ जनाको दरबन्दी रहने व्यवस्था छ । निर्माण कम्पनी पञ्चासे सिद्ध वराह निर्माण सेवासँग एक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । शिलान्याससँगै निर्माण कम्पनीले कामसमेत सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय स्थापना भएपछि फलेवाससहित आसपासका क्षेत्रका नागरिकले प्रहरी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । स्थायी प्रहरी संरचना निर्माण हुन थालेपछि स्थानीय व्यापारी तथा सर्वसाधारण उत्साहित भएका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय सञ्चालनमा आएपछि फलेवासको बजार सुरक्षा थप व्यवस्थित हुने र व्यापारिक गतिविधि सञ्चालनका लागि सुरक्षित वातावरण बन्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!