दुई वर्षदेखि भाडा नतिर्ने कुश्मा हस्पिटलको ताला फोडियो - News site from Nepal
दुई वर्षदेखि भाडा नतिर्ने कुश्मा हस्पिटलको ताला फोडियो

पर्वत २० असार : पर्वत सदरमुकाम कुश्माबजारमा संचालित निजि क्षेत्रको कुश्मा अस्पताल झण्डै एक वर्षदेखि बन्द भएको छ । बन्द रहेको हस्पिटलले घरभेटीको घरभाडा दुई वर्षसम्म नतिरको पाईएको छ ।

कुश्माबजारको मुख्य चोक शिवालयचोकमा संचालित हस्पिटलका घरधनि दुर्गादत्त अधिकारीले अस्पताल पनि नचलाउने र घरभाडा समेत नदिएको उजुरीपछि बिहीवार कुश्मा नगरपालिकाको न्यायिक समितिले ताला खोलिदिएको छ । मासिक रु. एक लाख रुपैया भाडा तिर्नेगरी सम्झौता भएपनि २२ महिनादेखि तिर्दै नतिरेको तर घरमा चापी लगाएर राखेको पाईएपछि ताला खोल्न नगरपालिका र प्रहरी प्रशासनमा हारगुहार गरेको घरधनि दुर्गादत्त अधिकारीले बताउनुभयो ।

कुश्मा नगरपालिकाको न्यायिक समिति संयोजक उपप्रमुख स्वस्थानी रिजाल सहित वडा अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले स्थानीयवासी प्रहरी र अस्पताल संचालकको रोहवरमा ताला फोडिएको हो । न्यायिक समितिले पटक पटक अस्पताल संचालकलाई सम्पर्क समन्वय गर्दा समेत बेवास्ता गरेपछि बाध्य भएर ताला फोड्ने निष्कर्षमा पुगिएको उपप्रमुख स्वस्थानी रिजालले बताउनुभयो । ताला फोडेपनि सम्झौता अनुसारको बाँकी घरभाडा संचालकले तिर्नुपर्ने उहाँको भनाई छ ।

संचालक मध्ये शुशिल पौडेल र तेजेन्द्र अधिकारीले आफुहरुले नमराज पुरीलाई विक्रि गरेको र त्यसपछि आफुहरुको संलग्नता नरहेको दावी गर्नुभएको छ । दुवै जनाले यसको जिम्मेवारी नमराज पुरीले लिनुपर्ने बताउनुभयो ।

संचालक शुशिल पौडेलले यस विषयमा अदालतमा मुद्धा बिचाराधिन रहेकाले धेरै कुरा उक्त मुद्धाको छिनोफानोपछि समाधान हुने बताउनुभयो । आफुहरुले विक्रि गरेपछि नमराज पुरीले कालीगण्डकी पोलिक्लिनिक भन्ने नाम परिवर्तन गरेर चलाएको आरोप उहाँको छ । यता नमराज पुरीले आफु अस्पतालको लगानीकर्ता, संचालक केहि नभई कर्मचारीको रुपमा रहेको बताउनुभयो । आफुले ठुलो रकम पारिश्रमिक लिन बाँकी रहेको उहाँको भनाई छ ।

पौडेल, अधिकारी र पुरीबीच आर्थिक लेनदेनमा विवाद आउँदा समस्या भएको देखिएको छ । ढिकुटीको रकमको हिसाब नमिलाएको, तिर्नुपर्ने पाटीहरुलाई नतिरेको, एक अर्काबीच आरोप पत्यारोप गरेको जस्ता समस्या देखिएका छन् ।

अधिकारीले २०७९ साल माघ १ गतेदेखि फलेवास पोलिक्लिनिक संचालन गर्नका लागि त्यहाँबाट हात झिकेको दावी गर्नुभयो ।

यता नमराज पुरीले आफु कुश्मा अस्पतालसँग कुनै संलग्न नरहेको र कालीगण्डकी पोलिक्लिनिक संचालन गरिरहेको दावी गर्नुभयो । उहाँका अनुसार अहिलेको विवाद कुश्मा अस्पताल र घरभेटीबीचको रहेकाले आफुलाई यसमा नजोड्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!