
पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा सुविधासम्पन्न बर्थिङ सेन्टर (प्रशुतिगृह) निर्माण गरिएको छ ।
ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुलाई सहज र सुरक्षित रुपमा प्रशुति सेवा उपलव्ध गराउने उद्धेश्यले सदरमुकाममा रहेको पर्वत अस्पतालकै मापदण्ड अनुसारको प्रशुतिगृह निर्माण गरिएको हो । भवन निर्माण सम्पन्न भएसँगै सेवा सुचारु गर्ने तयारी भैरहेको मोदी गाउँपालिकाले जनाएको छ ।
सदरमुकामको पहुँचवाट टाढा रहेका महिलाहरुलाई पालिकामै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनका लागि गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा भवन निर्माण गरिएको हो । सुबेदी निर्माण सेवाले रु.९९ लाख १९ हजार नौ सय ५३ रुपैँयाको लागतमा भवन निर्माण गरेको हो । भवनको सवै जसो निर्माणकार्य सकिएर हस्तान्तरणको प्रकृयामा रहेको भवन निर्माण कम्पनीका प्रतिनिधि बुद्ध पुनले जानकारी दिनुभयो ।
उक्त भवनवाट सेवा सुचारु भएपछि मोदी गाँउपालिकाका आठवटै वडाका साथै कास्कीको अन्नपुणर् गाउँपालिकाका गर्भवती महिलाहरु सुरक्षित प्रशुति सेवाका लागि सदरमुकाम कुश्मा र पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । उहाँका अनुसार प्रशुति गृहमा स्त्री तथा प्रशुति रोग विशेषज्ञ चिकित्सक सहित जनशक्तिको समेत व्यवस्थापन गरिने भएकाले जस्तोसुकै जटिल अवस्थाका गर्भवति महिलालाई पनि प्रशुति सेवा उपलव्ध गराउन सकिने भएको छ ।
बर्थिङ सेन्टर बनेपछि नियमित स्वास्थ्य जाँच गराउन पर्ने तथा आमा र बच्चाको अवस्था हेरी सुत्केरी गराउँदा थप जोखिमवाट मुक्त हुन सकिने उहाँको भनाई छ । अध्यक्ष शर्माले मोदी गाउँपालिका र आसपासका क्षेत्रका महिला सुरक्षित प्रसूति सेवाका लिन गाउँ छाडेर जानुपर्ने समस्या हटाउनका लागि पालिकास्तरीय बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । शर्माले नयाँ भवन निर्माण र आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरेर तत्काल मापदण्ड अनुसारको सेवा सुचारु गर्ने बताउनुभयो ।
मोदी गाँउपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा समेत दिँदै आएको छ । अहिलेसम्म यहाँका गर्भवती महिलाहरु प्रशुति सेवाका लागि पोखरा र कुश्मा जान बाध्य भएका थिए ।