पर्वत– पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको छैटौं पर्वत महोत्सव भव्य रुपमा सम्पन्न भएको छ ।
महोत्सव झण्डै ६ करोड बढीको कारोबार गरी सम्पन्न भएको हो । महोत्सबमा दुई लाख दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरि पर्यटन प्रवर्दन र स्थानीय उत्पादनहरुको प्रचारप्रसार गर्न भन्दै उद्योग वाणिज्य संघ पर्वतले महोत्सव आयोजना गरेको थियो ।
महोत्सवको आज गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले समापन गर्नुभयो । महोत्सव समापनका अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले देशको आर्थिक समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने बताउनुभयो । उद्यमको बिकासलेनै देशले आर्थिक समृद्धि हासिल गर्ने शेरचनको भनाई छ ।
नेपाल सरकारले मनाईरहेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन आफ्नो क्षेत्रमा रहेको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न पनि उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । शेरचनले लामो बलिदान र संघर्षपछि मुलुकले स्थायी सरकार पाएको बताउँदै यहि सरकारको पालामा मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले महोत्सवले पर्वतको समृद्धि र विकासमा ठूलो योगदान पु¥याएको धारणा राख्नुभयो । उहाँले पर्वत महोत्सव व्यवस्थापकिय हिसावले पनि निकै सफल भएको बताउनुभयो ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पर्वत महोत्सवले स्थानीय उत्पादनहरुको प्रचार प्रसार र जिल्लाका पर्यटकिय क्षेत्रहरुको पहिचान विश्वभर पु¥याउन सहयोग गरेको बताउनुभयो । उहाँले व्यवसायिक एकतामा जोड दिनुभयो । उहाँले महोत्सवकै पालानमा वडागाउँ खेल मैदानले पुर्णता पाएको बताउँदै जिल्लाका समग्र बिकासमा सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरएनएका सल्लाहकार गोबिन्द सुबेदी, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो ।
उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव गणेश लामिछानेले गर्नुभएको थियो । महोत्सव समापनका अवसरमा विभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ ।
महोत्सवमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने पुन यूवा क्लवलाई पुरस्कार वितरण गरिएको छ । रत्यौली प्रतियोगितामा नमूना पिपलटारी महिला समूह पहिलो, सहनशिल आमा समूह खरेहा दोस्रो, प्रगतिशिल आमा समूह देउपुर तेस्रो र खुशीयाली महिला समूह कुश्मा सान्त्वना भएका थिए । त्यसैगरी विद्यालय स्तरिय नृत्य प्रतियोगितामा नारायण मावि पहिलो, कालीगण्डकी एकेडेमी कुश्मा दोस्रो, जनता धन मावि बलेवा बागलुङ तेस्रो र नवजागृत मावि तिलाहार सान्त्वना भएका छन् ।
लोकभजन तर्फ अमलाचौर भजन समूह बागलुङ पहिलो, फलेवास नगर भजन समूह दोस्रो, गहतेपोखरा पिपलटारी भजन समूह तेस्रो र गौरीधाम भजन समूह सान्त्वना हुँदै पुरस्कृत भएका छन् ।
उत्कृष्ट स्टल, उत्कृष्ट उद्यमी,उत्कृष्ट खेलाडी, सहयोगी र पत्रकारहरुलाई सम्मान गरिएको छ । पर्वतमा क्रियाशिल झण्डै ३० जना भन्दा बढि पत्रकारलाई नगद र प्रशंसा पत्र सहित सम्मान गरिएको हो । महोत्सवमा २ सय भन्दा बढी स्टल रहेका थिए । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल भएको आयोजकले बताएको छ ।