पर्वत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेकपाबाट चुनाब जितेका जनप्रतिनिधिहरूले गाउँमा विकासको सिन्को भाँच्न नसकेपनि हिजो आफूले शुरूवात गरेका विकास निर्माणमा आज रिबन काट्दै हिँडेको आरोप लगाउनु भएको छ ।
नेता जोशीले आज फलेवास नगरपालिका –२ थापाठानामा नेपाली काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । नेता जोशीले चुनाबको पराजयपछि कार्यकर्तामा निराशा आएको वताउँदै एउटा निर्वाचनमा चुनाब हारेर राजनीति नसकिने दावी गर्नुभयो । नेता जोशीले चुनाबमा अफवाह र भ्रमको खेती गरेर निर्वाचन जितेपनि नेकपाको सरकारसँग जनताहरू अत्तालिइसकेको वताउनु भयो । उहाँले सरकारले देशमा भ्रष्ट्राचार गरेको हिंसा र हत्याको संरक्षण गरेको र महङ्गी बढाएको वताउँदै काँग्रेसले आजसम्म पर्ख र हेरको अवस्थामा रहेपनि अब भने नेकपा सरकारको ज्यादतीविरूद्घ शसक्त आन्दोलनमा लाग्नुको विकल्प नरहेको धारणा राख्नुभएको थियो ।
नेता जोशीले अब सरकारले गरेका गलत कामहरूको भण्डाफोर गर्ने बेला आएको दावी गर्दै आन्दोलनमा होमिन कार्यकर्तालाई चुल्हेनिम्तो गर्न आफू गाउँ(गाउँमा हिंडिरहेको जानाकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सचिब युक्तप्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका महासमिति सदस्य तथा फलेवास नगरपालिकाका प्रमुख पदका उमेदवार गंगाधर तिवारी,नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य तथा उपमेयर पदका प्रत्यासी रेखा गुरूङ,नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधि सनम बेगम, नेपाली काँग्रेस फलेवास नगर कार्यसमितिका संयोजक हिरामणि सापकोटा, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सदस्य शिवप्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष एवं रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार शिब, स्थानीय जनप्रतिनिधि तिलप्रसाद क्षेत्री, नेवि संघ पर्वतका पूर्व सचिव अच्युत तिवारी, नेवि संघ फलेवासका सभापति सन्तोष पाठक, नेपाली काँग्रेस थापाठाना–पोखरा सम्पर्क समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस थापाठानाका सभापति थमनसिंह थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य थापाठानाका वडाअध्यक्षका उमेदवार पूणबहादुर भण्डारीले गर्नुभएको थियो । त्यसैगरि कार्कीनेटामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, पार्टी सचिव युक्तप्रसाद श्रेष्ठ, महासमिति सदस्य गंगाधर तिवारी, कार्कीनेटाका सभापति विनोद श्रेष्ठ, काँग्रेसका स्थानीय नेता तुलसीराम पौडेल, समाजसेवी चोलाकान्त शर्मा र नेपाली काँग्रेस कार्कीनेटाका पूर्व सभापति विश्वराज शर्मा लगायतले पार्टीको सांगठनिक अवस्थाका वारेमा बोल्नुभएको थियो । साथै नेता जोशीले अन्नपूर्ण मावि कार्कीनेटामा पुगेर विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्मालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो भने त्यहाँको शैक्षिक स्थीतिको बारेमा समेत जानकारी लिनुभएको थियो । केन्द्रीय सदस्य जोशीले विद्यालयलाई राम्रो बनाउन र अभिभावकको विस्वास जित्न शैक्षिक गुणस्तर सुधारको आवस्यकता रहेको वताउनुभएको थियो । कार्यक्रममा विद्यालयको समग्र अवस्थाका बारेमा शिक्षक राजु विकले जानकारी गराउनु भएको थियो ।
हस्तान्तरण गरिएको कम्प्युटर प्रदेशसभा उमेदवार तथा काँग्रेसका युवा नेता राजेन्द्रप्रसाद तिवारीले उपलब्ध गराउनुभएको थियो । त्यसैगरि थापाठानाको बेंसीमा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेस पर्वतका पार्टी सचिव युक्तप्रसाद श्रेष्ठ, महासमिति सदस्य गंगाधर तिवारी, वडा सदस्य गंगाप्रसाद सुबेदी लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस थापाठानाका सभापति थमनसिंह थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सदस्य शिबप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।