
माधब पराजुली,पोखरा
गण्डकी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गुणस्तरिय शिक्षा विना विकास सम्भव नरहेको बताउनुभएको छ ।
पर्वतको मोदी गाँउपालिका वडा नं.६ तिलाहार स्थित नवजागृत मा.वि.को ५३ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै तथा बिद्यालयलाई स्कुलबसको चावी हस्तान्तरण गर्दै मन्त्री लम्सालले शिक्षा विना मुलुकको विकास र समृद्धिको कल्पना समेत गर्न नसकिने बताउनुभएको हो ।

मन्त्री लम्सालले अब नेपालमा आधारभुत तहदेखिनै प्राविधिक र व्यवहारिक शिक्षा विना मुलुकको विकास,परिर्वतन र समृद्धि सम्भव नरहेको बताउनुभयो । देशमा टड्काररुपमा खडा भएको तथा नेपाली जनताले भोग्नुपरेको वेरोजगार,अविकास,अदक्षताको परिणामनै गुजरे शिक्षा भएको बताउदै यसको समाधान भनेकै गुणस्तर सहितको प्राविधिक,रोजगारमूलक शिक्षाको विकास हो भन्नुभयो ।
मन्त्री लम्सालले अबको आवश्यकता भनेको दक्ष जनशक्तिको उत्पादन नै भएको बताउदै रोजगारमुलक,व्यवहारिक र प्राविधिक शिक्षामा सरकारले बिशेष चासो दिएको समेत बताउनुभयो ।
गुणस्तरीय शिक्षानै जुनकुनै देशको पनि लगाम भएको र त्यसले कहाँ लैजाने भन्ने दिशानिर्देश गर्ने भन्दै आफ्नो उच्चशिक्षाका विषय छान्दा बिद्यार्थीहरुले बेरोजगार बस्नु नपर्ने बिषय छानी छानी पढ्न पाउनेखालको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षामा गुणस्तरीयता,जवाफदेहीता र जिम्मेवारीता समेत कम हुदै गएको विद्यमान अवस्थाले शिक्षाक्षेत्रमा गुणस्तरियता र विश्वसनीयता समेत गुम्दै गएको बताउदै अब शिक्षण पद्धतीलाई समेत परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो ।
“बिद्यालयमा पढाउने शिक्षक पनि अब जिम्मेवारी भएर अध्यापन गराउनुपर्छ,बुर्जुवा शिक्षाले अब समृद्धि हासिल गर्न सकिदैन,मन्त्री लम्सालले भन्नुभयो”अब सम्बन्धित बिषयमा प्रथम श्रेणी हासील गरेको व्यक्तिले मात्र शिक्षक बन्ने अवसर पाउने कानुन हामी ल्याउदैछौँ ।
माध्यमिक तहभन्दा माथि रोजगार प्रधान शिक्षालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिनुभयो ।
साथै मन्त्री लम्सालले पूर्वाधार क्षेत्रहरु सडक, बिजुली खानेपानी, सिँचाइलगायत आर्थिक, सामाजिक र सांस्कृतिक विकासका विभिन्न योजनाहरूलाई जोडेर लैजाने योजना बनाइएको बताउदै कृषि, पर्यटन, घरेलु तथा साना उद्यम व्यापार व्यवसाय र रोजगारीलाई प्राथमिकतामा राखी अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
सामाजिक क्षेत्रमा गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ र सामाजिक समावेशीकरणको प्रत्यभूति जनस्तरसम्म हुने गरी काम अगाडी बढाउने उहाँको भनाई थियो ।

कार्यक्रममा मोदी गाँउपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले गाँउपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेट बनाएको बताउदै शिक्षामा गुणस्तरियता कायम गर्न निरन्तर शैक्षिक योजनाहरु बनाउने बताउनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रजगं लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विकास शिक्षा तथा समन्वय एकाई पर्वतका उद्यिमराज शर्मा,वडाध्यक्ष बिमल लामिछाने लगाएतले बोल्नुभएको थियो ।
सोही अवसरमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिनुका साथै बिद्यार्थीहरुले आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए ।
बिद्यालयका प्र.अ.विष्णु प्रसाद सुवेदीले बिद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस