मनकारी गाउँलेहरु, चन्दा संकलन गरी मोदी गाउँपालिकाको भवनका लागि जग्गा खरिद - News site from Nepal

पर्वत — हरेक विकास निर्माण र पूर्वाधारका काम सरकारले गर्छ । सर्वसाधारण घरको शौचालय बनाउन र आँगनको खाडल पुर्न पनि सरकारकै मुख ताक्ने चलन अझै छ ।

त्यो संस्कार तोड्दै मोदी गाउँपालिकावासीले भने स्थानीय सरकारका लागि आफैं सहयोगमा जुटेका छन् । मोदीका करिब दुई सय परिवारले गाउँपालिकाका भवनका लागि करोडौं मूल्य बराबरको जग्गा र नगद जुटाएका छन् ।

स्थानीयको अगुवाइमा गत वैशाखदेखि नगद संकलन सुरु गरिएको थियो । एक वर्षभित्रै गाउँपालिकाका लागि पर्याप्त जग्गा जुटाउने अभियान थालेका उनीहरूले ८ महिनामै ८० लाख रुपैयाँ र १२ रोपनी जग्गा जुटाएका छन् । गत चैतमा ४१ सदस्यीय जग्गा तथा नगद संकलन समिति गठन भएको थियो ।
समितिले सबै प्रक्रिया सकेर शनिबार गाउँपालिकाका लागि जग्गा र नगद हस्तान्तरण गरेको छ । सर्वदलीय तथा सर्वपक्षीय सहमतिमा मोदी–२ पातीचौरस्थित मध्यपहाडी लोकमार्गसँगै जोडिएको जग्गामा गाउँपालिकाका लागि आवश्यक भवन बनाउने जग्गाको व्यवस्थापन गरेका हुन् । ‘हामीले योजनाबद्ध ढंगले काम सुरु गरेका थियौं,’ समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले भने, ‘एक वर्षमै गाउँपालिकाको भवन बनाउने योजना थियो । त्यो नसके पनि समयमै गाउँपालिकालाई जग्गा हस्तान्तरण गर्न सकियो । त्यो सफलता हो ।’
गाउँपालिकाको केन्द्र देउपुरको कंडेनीमा केन्द्र तोकिएको थियो । सर्वदलीय सहमतिमा गाउँसभाले पातीचौर सार्ने निर्णय गरेपछि स्थानीयवासीले भवनका लागि नगद र जग्गा जुटाउन लागिपरेका हुन् । शनिबार गाउँपालिकाको निर्माणाधीन भवनको जग्गामै भएको कार्यक्रममा जनप्रतिनिधिले यसै वर्ष भवन निर्माण सुरु गर्ने प्रतिबद्धता जनाए । ‘तत्कालका लागि एउटा हल बनाउने तयारी भएको छ,’ मोदी– ५ का अध्यक्ष विकास तिमिल्सिनाले भने, ‘हल बनेपछि विषयगत कार्यालय त्यहीं सारिनेछ । व्यवस्थित भवनको काम अघि बढिरहन्छ ।’
अहिलेसम्म गाउँपालिकाले विषयगत कार्यालयकै लागि बर्सेनि लाखौं लगानी गरिरहेको छ । गाउँपालिकालेजग्गा जुटाइसकेपछि भवन निर्माणका लागि भूकम्प पुनर्निर्माण प्राधिकरणबाट ११ करोड रुपैयाँ अनुदान प्राप्त हुने आश्वासन पाइएको उनले बताए ।
आवश्यक जग्गा जुटिसकेपछि भवन निर्माणका लागि बजेटको कुनै समस्या नभएको गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलले बताए । गाउँपालिका भवन निर्माण सुरु गर्न जिल्ला समन्वय समितिलाई जग्गाको लालपुर्जा पेस गर्नुपर्छ । गाउँ कार्यपालिका, विषयगत कार्यालय र उपयुक्त पार्किङका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा जुटेको छ । जग्गा खरिदका लागि करिब दुई सय परिवारले घरलौरी गरेको दानबाट ८० लाख जुटेको हो ।
अर्थ संकलन समिति पारदर्शी बनाउन सबै राजनीतिक आस्थाका व्यक्ति सहभागी भएकाले सहज भएको संयोजक तिमिल्सिनाले बताए । सबैलाई पायक पर्ने स्थानमा गाउँपालिका केन्द्र राख्नेगरी सहमति भएका कारण खुसियालीमा ज्याला मजदुरी गर्नेले समेत दान गरेका थिए । कतिपयले जग्गा दान गरेको समितिका सचिव देवराज गिरीले बताए । ‘सुरुसुरुमा जग्गा महँगो पर्ने चिन्ता थियो,’ गिरीले भने, ‘बजारमूल्यभन्दा दुई तिहाई मूल्य घटाएर धेरैले जग्गा दिनुभयो । त्यसपछि हामी निकै उत्साहित भयौं ।’
गाउँपालिका भवन बनाउने अभियानमा स्थानीयको सहयोगबाट जनप्रतिनिधिसमेत प्रभावित छन् । गाउँपालिकाका सबै विषयगत कार्यालय रहने गरी १ रोपनी ३ आनामा ७ तले भवन निर्माण गर्ने योजना छ । योजनाअनुसार काम भए मोदी आफ्नै भवन बन्ने पर्वतकै पहिलो स्थानीय तह बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!