सहकारी हिनामिना : सात दिनभित्र रकम दाखिला गर्न प्रहरीको अल्टिमेटम - News site from Nepal
पर्वत १० माघ : पर्वतमा तीनवटा सहकारी संस्थाका रकम हिनामिनामा संलग्नहरुलाई एक साता भित्र असुलउपर गर्न प्रहरीले ताकेता गरेको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा संचालित तपाईँ, हाम्रो बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड, माता पाथीभरा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड  र ग्रामीण कृषि विकास सहकारी संस्था लिमिटेडका संचालक, ऋणि तथा काल्पनीक कारोबार गरी सहकारीको आय हिनामिना गर्नेहरुलाई एक हप्ताभित्र रकम दाखिला गर्न चेतावनी दिईएको हो । तीनवटा सहकारीको रु. ५१ करोड भन्दा बढि रकम हिनामिना भएको भन्दै प्रहरीमा दुई वर्ष अघि उजुरी परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले शुक्रवार सुचना जारी गरी पर्वत जिल्ला अदालतको आदेश अनुसार वित्तिय विश्लेषकले पेश गरेको विस्तृत वित्तिय विवरण सहितको प्रतिवेदन २०८२ बाट सहकारी ऐन निषेधित व्यक्तिहरुलाई उक्त रकम दाखिला गर्न माघ १४ गते सम्मको समय दिएको छ । सहकारीसंग संलग्न व्यक्तिहरुलाई माघ १४ गते भित्र रकम दाखिला गर्न ताकेकता गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन कुमार पटेलले जानकारी दिनुभयो ।
आफुले भुक्तानी गर्नुपर्ने रकम सम्वन्धित सहरकारीको नाममा रहेको बैंक खातामा जम्मा गरी प्रमाण पेश गर्न भनिएको छ । उक्त समयावधि भित्र रकम भुक्तानी नगरेकमा कानून बमोजिम कारबाही प्रकृया अघि बढाईने प्रहरीले चेतावनी समेत दिएको छ ।
तपाईँ हाम्रो बहुउद्धेश्यीय सहकारी संस्थाको रु. २९ करोड ९८ लाख रकम हिनामिना भएको छ भने माता पाथीभरा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको रु. ११ करोड ११ लाख ९० हजार रुपैया हिनामिना भएको छ । यसैगरी ग्रामीण कृषि विकास सहकारी संस्था लिमिटेडको रु. १० करोड रकम हिनामिना भएको पाईएको छ ।
तीनवटै सहकारीका संचालकहरु अहिलेपनि थुनामा रहेका छन् भने तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष बालगोपाल श्रेष्ठ फरार रहेका छन् । अन्य संचालकहरुले सहकारी संस्थ व्यूताएर कारोबार शुरु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!