पर्वतमा सवै दलले टुंगाए उम्मेदवार, आज धुमधामका साथ मनोनयनको तयारी   - News site from Nepal
पर्वत ६ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा सवै दलले उम्मेदवार टुंगो लगाएका छन् ।
पर्वतमा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएका हुन् । नेपाली काँग्रेसवाट अर्जुनप्रसाद जोशी उम्मेदवार बन्नुहुने भएको छ । कुश्मा नगरपालिका वडा नंं. ६ निवासी जोशी छैटौ पटक उम्मेदवार बन्न लाग्नुभएको हो । उहाँ वि.संं. २०५६ सालदेखि लगातार संघमा चुनाव लड्दै आउनुभएको छ । वि.सं. २०५६, २०६४ र २०७० सालमा बिजयी हुनुभएका जोशी वि.सं. २०७४ र वि.सं. २०७९ सालको निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँ यसपटक १० वर्षपछि संसद फर्किने दाउमा हुनुहुन्छ ।
नेकपा एमालेवाट केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरी उम्मेदवार बन्नुभएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ निवासी उहाँ तेस्रो पटक उम्मेदवार बन्न लाग्नुभएको हो । गिरी वि.सं. २०७४ साल र वि.सं. २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार बनेर बिजयी हुनुभएको थियो । उहाँ पुर्व कानून तथा स्वास्थ्य मन्त्री समेत हुनुहुन्छ । गिरी तेस्रोपटक पनि ह्याट्रिक गर्ने प्रयासमा रहनुभएको छ ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीवाट केन्द्रीय सदस्य मनहरी तिमिल्सिना उम्मेदवार बन्नुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ७ राम्जादेउराली निवासी तिमिल्सिना पहिलोपटक उम्मेदवार बन्न लाग्नुभएको हो । जनयुद्धदेखिनै तत्कालीन नेकपा माओवादीमा रहेर राजनीति गर्दै आउनुभएका तिमिल्सिना पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा सचिबालयमा बसेर काम गरेको अनुभन रहेको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले सागर भुसाल लाई उम्मेवारको रुपमा अघि सारेको छ । पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा निवासी भुषाल पहिलोपटक उम्मेदवार बन्न लाग्नुभएको हो । सो पार्टीले पहिले पैंयू गाउँपालिकाका डा. केशबराज भुर्तेललाई चयन गरेको भएपनि सामाजिक सञ्जालमा आलोचना बढेपछि गएराती परिवर्तन गरी भुसाललाई चयन गरेको हो ।
जिल्लामा सक्रिय रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रवाबाट दुर्गाबहादुर मल्ल, मंगोल नेशनल अर्गनाईजेशन, जनमुक्ति पार्टी, राष्ट्रय जनमोर्चा लगायतले पनि उम्मेदवार टुंगो लगाएको र आज मनोनयनको तयारी भैरहेको जानकारी दिएका छन् ।
एक निर्वाचन क्षेत्र रहेको पर्वतमा यस अघि दुई कार्यकाल नेकपा एमाले बिजयी भएको थियो भने त्यस भन्दा अघि लगातार नेपाली काँग्रेसवाट अर्जुनप्रसाद जोशी बिजयी हुनुभएको थियो । पर्वतमा विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
दलहरुले आज हुने उम्मेदवारी दर्ताको तयारी  गरिरहेका छन् । उनिहरु गाउँ गाउँवाट कार्यकर्ता बोलाएर ठुलो सहभागिता सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि जाने तयारी गरेका छन् । यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार सर्वदलिय बैठक राखि दलहरुलाई उम्मेदवारी मनोनयनका लागि छुट्टाछुट्टै समयतालिका दिएको छ ।
पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!