पर्वत ५ माघ : पर्वतमा निर्वाचन प्रहरीका लागि माग गरिएको कोटा भन्दा निकै कम मात्र आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक हजार ६१ जनाको आवेदन खुलाएकोमा शनिवार साँझ सम्म ८ सय २४ जनाको मात्र आवेदन दिएका हुन् । ्जसमध्ये छ सय ५७ पुरुष र १ सय ६७ जना महिला रहेका छन् । माग भन्दा दुई सय ३७ जना निर्वाचन प्रहरी अपुग देखिएको छ, जसले गर्दा प्रतिस्पर्धात्मक छनोटमा समस्या देखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दरखास्त दिने समय सीमा दुई दिन थप गरिएको भएपनि माग अनुसार आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक बिजय यादबले जानकारी दिनुभयो । दरखास्त दिने म्याद शनिबार सकिएको डीएसपी यादबले बताउनुभयो ।
प्रहरीले पुस २५ गतेबाट माघ १ गते सम्मको समय सीमा तोकेर जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गुल्म पर्वत तथा इलाका प्रहरी कार्यालय हुवासमा आवेदन संकलन गरेको थियो । सदरमुकाममा मात्र आवेदन लिँदा आवेदन दिनेको संख्या उल्लेखनीय नभएपछि इलाका प्रहरी कार्यालय हुवासमा पनि आवेदन संकलन गरिएको थियो । तीन ठाउँबाट आवेदन संकलन हुँदा पनि आवश्यक संख्या नपुगेको यादबले बताउनुभयो ।
आवश्यक भन्दा केही बढी भए प्रतिस्पर्धा गरेर योग्यलाई निर्वाचन प्रहरीमा भर्ना लिने परिपाटी रहँदै आएको थियो । यस वर्ष माग भन्दा कम संख्यामा आवेदन परेपछि प्रतिस्पर्धात्मक छनोटमा पनि अलमल पर्ने देखिएको छ । नपुग संख्यााका बारेमा प्रदेश वा संघमार्फत आउने निर्देशन अनुसार अघि बढ्ने प्रहरी निरिक्षक राजन पटेलले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतले आवेदकहरुका लागि आजदेखि स्वास्थ्य परिक्षण, परिक्षा र तालिमका कार्यक्रमहरु संचालन गर्ने भएको छ ।
निर्वाचन नजिकिँदै जाँदा पर्वतमा विभिन्न तयारीहरु भैरहेका छन् । शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने अहिले निर्वाचन सामाग्री खरिद प्रकृया शुरु भएको छ । आगामी निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र कायम गरिएको छ ।






