कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो  - News site from Nepal
कार्यसम्पादन मुल्यांकनमा पैंयूँ पर्वत जिल्लामै पहिलो 
पर्वत, १ फागुन : पर्वतका सात स्थानीय तहमध्ये पैयूँ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार पैयूँ  गाउँपालिका जिल्लाकै पहिलो भएको हो । पैयूँ गाउँपालिका ६९.७५ अंक सहित पहिलो हुँदा ४५ दशमलब.१३ अंक प्राप्त गरेको कुश्मा नगरपालिका अन्तिम स्थानमा परेको छ । तथ्यांक अनुसार जलजला गाउँपालिका  ६६.९० अंकसहित दोस्रो हुँदा माहाशिला गाउँपालिका ५९.०० अंकसहित तेस्रो स्थानमा छ ।
त्यसैगरी बिहादी गाउँपालिका ५५.३३ अंकसहित चौथो, फलेवास नगरपालिका ५४.५९ अंकसहित पाँचौँ र मोदी गाउँपालिका ५०.९५ अंकसहित छैटौं स्थानमा रहेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको हकमा १७ सूचकमा मूल्यांकन गर्दै आइरहेको छ । १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, आर्थिक वर्ष वि.सं. २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको विषयलाई मूल्यांकनको सूचकमा राखिएको छ ।
यसैगरी, आगामी आर्थिक बर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु सुत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, चारपटक गर्भ चेक गर्ने महिलाको अनुपात, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा, बालबालिकाको खोपको अनुपात आदीलाई आयोगले मूल्यांकनको आधार मान्ने गरेको छ ।
आयोगको नतिजालाई आगामी आर्थिक बर्षको बजेट बनाउन समेत आधार मानिने हुँदा महत्वका साथ हेरिन्छ । अघिल्लो आर्थिक वर्षमा जलजला गाउँपालिका पहिलो बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!