पर्वत १९ चैत : पर्वतको जलजला गाउँपालिका–४, मल्लाजमा नेपाली सेनाले संचालन गरेको एक दिने बृहत् स्वास्थ्य शिविरमा साढे पाँच सय जना बिरामीको उपचार गरिएको छ ।
नेपाली सेनाको श्री नयाँरणभीम गूल्म पर्वतको आयोजना तथा २३ नम्वर बाहिनी अड्डाको निर्देशन तथा सैनिक अस्पताल पोखरा र २३ नम्वर फिल्ड उयम्बुलेन्स गुल्म बागलुङको समन्वयमा बुधवार शिविर आयोजना गरिएको हो ।
जलजला गाउँपालिका ४ नम्बर वडा कार्यालयको संयोजनमा फट्केढुङ्गा आधारभूत विद्यालय परिसरमा संचालित शिविरमा पाँच सय ३१ जना नागरिकको स्वास्थ्य परिक्षण गरिएको गुल्मपती सेनानी चिरञ्जिवि सुवेदीले जानकारी दिनुभयो ।
शिविरमा सैनिक अस्पताल पोखरा र धौलागिरि प्रादेशिक अस्पताल बागलुङ, प्रदेश अस्पताल म्याग्दी तथा नम्बर २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङ र क्लिनिक नेपाल भरतपुरको प्राविधिक सहयोग गरेको गुल्मपति सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा स्त्री तथा प्रसुति, हाडजोर्र्नी, दन्त, छाला सम्बन्धी रोग, उच्च रक्तचाप, मधुमेह, नाक, कान, घाँटी तथा आँखा र अन्य रोगको परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।
उहाँले भन्नुभयो, “दुर्गम भेगमा बसोवास गर्ने गरिब तथा विपन्न परिवार, दलित समुदाय लगायतका नागरिकलाई स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । नागरिक सैनिक सम्वन्धलाई प्रगाढ बनाउँदै विपन्न तथा गरिब समुदायका विभिन्न रोग लुकाएर बसेका सर्वसाधारणको रोगको पहिचानमा पनि सहयोग पुगेको उहाँले बताउनुभयो ।
शिविरलाई सफल पार्नका लागि गाउँपालिका र वडाले आवश्यक सहयोग उपलब्ध गराएको जलजला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।” शिविरमा माझफाँट, बासखर्क र लेखफाँटका बस्तीबाट सर्वसाधारण स्वास्थ्य परीक्षणका लागि आएका छन् ।






