पर्वत- शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) पर्वतको संयोजनमा गैसस महासंघ पर्वत, नागरिक समाज सञ्जाल पर्वतलगायतका नागरिक संघ संस्थाहरुसँगको सहकार्यमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको दोस्रो दिन आज मंसिर १० गते जिल्ला समन्वय समितिका प्रमुख श्री विष्णुराम विक र कुश्मा नगरपालिकाका नगर प्रमुख श्री रामचन्द्र जोशीलाई शिक्षा अधिकारको सुनिश्चितता तथा हिंसारहित समाज निर्माणका पक्षमा ध्यानाकर्षण–पत्र हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरियो ।
जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा एनसिईका जिल्ला संयोजक आशिष पौडेलले वाचन गरेर सुनाउनुभएको ध्यानाकर्षणपत्र नागरिक समाज सञ्जाल पर्वतका संयोजक माया अधिकारीले जिल्ला समन्वय समितिका प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा समन्वय प्रमुख विष्णुराम विकले ध्यानाकर्षणमा समावेश गरिएका १४ बुँदा ज्यादै महत्वपूर्ण रहेका र यिनका कार्यान्वयन गर्न सके शिक्षा क्षेत्रमा जिल्लाले फड्को मार्न सक्ने र हिंसारहित जिल्ला बनाउन सहयोग पुग्ने बताउनुभयो । समन्वय समितिले ध्यानाकर्षणपत्रलाई जिल्लाका सबै पालिकामा सम्प्रेषण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा एनसिई नेपाल, पर्वतका संयोजक आशिष पौडेलले ध्यानाकर्षणपत्र वाचन गरेर सुनाउनुभएको थियो भने एनसिई युवा समूहकी सदस्य करुणा सुनारले नगरप्रमुखलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गर्नुभएको थियो । कुश्मा नगरपालिकामा सम्पन्न हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडा अध्यक्षज्यूहरु, एनसिई नेपालका निवर्तमान अध्यक्ष राजेन्द्र पहाडीसहित नागरिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नगरप्रमुख रामचन्द्र जोशीले ध्यानाकर्षणपत्र ग्रहण गर्दै आफूहरुले छलफल गरेर पत्रमा सुझाइएका कुराहरुलाई कार्यान्वयन गर्न प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ध्यानाकर्षणपत्रमा एनसिई नेपाल पर्वतसहितका संघसंस्थाहरुले बालबालिका, किशोरकिशोरीसहित हरेक नागरिक सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट हुन सक्ने सम्भावित हिंसाबाट सुरक्षित रहने वातावरणको व्यवस्थापन गर्न र प्रविधिजन्य हिंसामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने कुराको प्रत्याभुती गर्न सरोकारवाला निकायसँग माग गरेकाछन् । यसैगरी उनीहरुको मागमा स्थानीय सरकारको तर्फबाट समतामूलक लगानी गरी समता र समानतालाई बढावा दिने शिक्षा प्रणालीको सुनिश्चितताका गर्न, संबैधानिक अधिकारको रुपमा रहेको निःशुल्क तथा अनिवार्य गुणस्तरीय शिक्षाको मर्मअनुरुप माध्यमिक तहसम्मको शिक्षा निःशुल्कको प्रत्याभुती गरी कक्षा १–१२ तहसम्म कुनै पनि नाममा शुल्क लिन नपाइने व्यवस्थालाई कार्यान्वयन गर्न, हिंसाबाट प्रभावित बालबालिका, किशोरकिशोरी, अपांगता भएका नागरिकसहित कुनै पनि प्रकारको हिंसाबाट प्रभावित समुदायको आवाजको सुनुवाई गर्ने संयन्त्र निर्माण गरी कार्यान्वयन गर्न तथा तीनै तहका सरकार र तिनका निकायहरुमा नागरिक समाजलाई आफ्नो कुरा राख्ने सुरक्षित वातावरण उपलब्ध गराइयोस् भन्ने कुराहरु समेटिएकाछन् । यसका साथै सबै विद्यालयमा गुनासो सुनुवाई संयन्त्रको व्यवस्थापन, बालिका तथा समावेशी शिक्षा सञ्जालको गठन, लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्न, विद्यालयमा सुरक्षित वातावरणको निर्माण गरी सबै बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गर्न, कार्यस्थलमा हुने हिंसालाई शुन्य सहनशीलताको मर्मअनुरुप कडाइकासाथ निरुत्साहित गर्न र पीडकलाई कडा कानुनी कारबाही गर्ने पद्धती विकास गर्न माग गरिएको छ ।
मागपत्रमा स्थानीय सवालहरुलाई पनि महत्वकासाथ उठान गरिएको छ । ध्यानाकर्षणपत्रमा जिल्ला सदरमुकाममा रहेका दुईवटा धार्मिक विद्यालयहरु –गुप्तेश्वर वेदवेदाङ्ग पाठशाला र गुल्सने बरकात मदरसाको व्यवस्थित सञ्चालनका लागि स्थानीय सरकारसहित सरोकारित निकायहरुको पर्याप्त ध्यान पुगोस्, बालबिवाह जस्ता कूप्रथा र परम्पराको रोकथाम, हिंसामा परेका बालबालिकाहरुको शिक्षा अधिकारको सुनिश्चितता र युवा तथा प्रौढ महिलालाई सीप तथा रोजगारीको अवसरमा प्राथमिकता दिन स्थानीय सरकारको तर्फबाट अग्रसरता लिइयोस् र हिंसा पीडित महिला तथा बालबालिकाको सुरक्षा तथा संरक्षणको उद्धेश्यसहित धेरै बर्ष अघि निर्माण प्रारम्भ भई अलपत्र अवस्थामा रहेको कुश्मा नगरपालिका वडा नं. ५ स्थित सुरक्षित गृहको निर्माण पूर्णता र सदुपयोगमा ध्यान पुगोस् भन्ने समावेश गरिएको छ ।
१६ दिने अभियान अवधीभर विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका बीचमा सहकार्य तथा समन्वय गरी कार्यक्रमहरु गरिने योजना रहेको गैसस महासंघ पर्वतका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।






