
पर्वत, ९ वैशाख : नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेशमा पुर्व मुख्य मन्त्री खगराज अधिकारीले नेपालमा अब राजतन्त्र फर्किने कुरा कल्पना समेत गर्न नसकिने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा पर्वतको कार्कीनेटामा आयोजित तत्कालीन नेकपा मालेका संस्थापकको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै नेता अधिकारीले राजबादीहरु सडकमा कराउँदैमा राजतन्त्र नफर्किने ठोकुवा गर्नुभयो ।
नेपाली जनताको लामो संघर्ष र बलिदानवाट यो मुलुकमा लोकतन्त्र र गणतन्त्र आएको भन्दै नेता अधिकारीले दुई/चारजना राजाबादीहरुको लहडका भरमा राजतन्त्र फर्किन्छ भन्ने कल्पना समेत नगर्न आग्रह गर्नुभयो । नेता अधिकारीले राणाशासनको बेला नेपाली जनताले भोगेको कष्ट र दुःखलाई सम्झेर राजाबादीहरुनै राजतन्त्र फर्काउन नचाहाने उहाँको भनाई छ ।
बहुदल आएपछि मु्लकमा नागरिकहरु स्वतन्त्र हुनुमात्र नभई थुप्रै खालको विकास र समृद्धि हासिल भएको बताउँदै स्वर्गमा बसेका नेपालीहरुलाई नर्कमा पुर्याउने छुन कसैलाई नभएको बताउनुभयो । पुर्व मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले नेकपा एमालेको नेतृत्वमा सरकार बन्न थालेपछि मुलुकका थुप्रै खालका विकास र परिवर्तनहरु आएको ठोकुवा गर्नुभयो ।
उहाँले मुलुकमा अराजकता निम्त्याउन खोज्ने शक्तिहरु सक्रिय हुँदै गएपछि मुलुकका ठुला दुई दल एक ठाउँमा उभिनुपरेको बताउनुभयो । नयाँ उम्रिएका देखि पुराना राजाबादी पार्टीहरु समेत अराजकताका निम्ति सक्रिय बनेपछि यो मुलुक र संविधानको रक्षाका लागि एमाले र काँग्रेसको संयुक्त सरकार बनाउनुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
राजबादीहरु राजा फर्काउन हो की, अराजकता, हिंसा, चोरी डकैती गर्न सडकमा झरेका हुन् भन्ने कुरा चैत १५ को आन्दोलनले छर्लङ्गै पारेको उहाँको दावी छ । नेता अधिकारीले नेकपा एमाले पर्वतले संस्थापकहरुलाई सम्मान तथा अभिनन्दन गरेर कम्युनिष्टको इतिहासलाई जीवन्त राख्ने प्रयास गरेको बताउनुभयो ।
जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा स्थित गौरीकान्त पाध्याको घरमा वि.सं. २०३६ साल असोजमा नेकपा माले पर्वत गठन भएको थियो । तत्कालीन समयका संस्थापक गणेश शर्मा पौडेल, तोयानाथ चालिसे, कृष्णप्रसाद भट्टराई, बिष्णुप्रसाद भट्टराई र स्वर्गिय बाबुराम पौडेललाई दोसल्ला, सम्मान पत्र र माला ओढाएर सम्मान गरिएको थियो ।
पञ्चायतकालीन अवस्थामा आफ्नो घरमा आश्रय दिएर स्थानीय स्वर्गिय गौरीकान्त पाध्याले नेकपा माले गठन गर्न योगदान गर्नुभएको भन्दै उहाँकै घरमा पुगेर संस्थापकको सम्मान गरिएको हो । सो अवसरमा संस्थापक नेताहरुले तत्कालीन अवस्था र अहिलेको अवस्थाका बारेमा बिचारहरु व्यक्त गर्नुभएको थियो ।