पर्वत २५ असार : मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नाम्दोकको चुम्जुङ खोलामा मंगलबार साँझ आएको लेदोसहितको बाढीका कारण कालीगण्डकी नदी तटिय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न बाध्य भएका छन् ।
बाढीसँगै गएरातीदेखि नै भिषण वर्षा भैरहेको छ । वर्षा र बाढीका कारण तटिय क्षेत्रका बासिन्दा रातभर जाग्राम बसेका हुन् । चुम्जुङ खोलामा बाढि आएको खबर सँगै जिल्ला प्रशासन कार्यालय मुस्ताङ, म्याग्दी र पर्वतले सतर्कता अपनाउन सुचना जारी गरेका थिए ।
उक्त सूचना पछि कतिवेला जोखिम निम्तिने हो भन्दै रातभर जाग्राम बस्नु परेको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगाका गणेश माझीले जानकारी दिनुभयो । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार र इमिचौर उच्च जोखिममा परेका हुन् ।
पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको सेतीवेणीमा कालीगण्डकी नदिको बहाब बढेर खतराको तहमा पुगिसकेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नदिको सतह बढेर बजार नजिकै आईपुगेको छ । पर्वत, बागलुङ र म्याग्दी क्षेत्रमा ठुलो वर्षा भएकाले सतह अझै बढ्ने सम्भावना रहेको उहाँले बताउनुभयो । नदिको सतह बढेसँगै कालीगण्डकी ए जलविद्युत आयोजनाले बाँधका सवै ढोकाहरु खुल्ला गरिसकेको छ ।
सेतीवेणीमा गत वर्ष कालीगण्डकी र सेतीखोलाको बहाब बढेर बजार डुवानमा परेको थियो भने एक भर भत्किएको थियो । कालीगण्डकीको बहाब बढ्दा एक महिनादेखि विश्वकै ठुलो शालग्राम शिला डुवानमा परेको छ ।
पर्वत, म्याग्दी र मुस्ताङ जिल्ला प्रशासनले कालीगण्डकीमा पानीको सतह बढ्ने क्रम उच्च रहेकोले नदि किनारमा नजान, किनारका बासिन्दाहरु सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् । पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले मौसमविद्का अनुसार आजपनि दिनभर वर्षा हुने भएकाले सवैले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।






