
पर्वत, २१ असार : पर्वत सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ पानी वितरण गर्दै आएको संस्थालाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । खानेपानीका श्रोतहरु सुक्दै जाने, जनसंख्या थपिदै जाने क्रम बढेको भन्दै नगरप्रमुख जोशीले नयाँ स्रोतहरुको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्याउनका लागि नगरपालिकाले समेत आवश्यक पहल गरिरहेको बताउँदै ठुला योजनामा संघ र प्रदेशवाट समेत बजेट माग गरिने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष गोबिन्द पहाडी, नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेल, राप्रपाका समुन्द्र गिरी सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराका सिनियर डिभिजनल इन्जिनियर कुलप्रसाद पौडेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष रबिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा संस्थाले गरेका कार्यक्रमहरु र आगामी योजनाका बारेमा बोल्नुभएको थियो । उहाँले आगामी आर्थिक वर्षदेखि बृहद कुश्मा खानेपानी आयोजना संचालनका लागि संघीय सरकारवाट रु. तीन करोड रुपैया बजेट बिनीयोजन भएको जानकारी दिनुभयो । उक्त योजना सम्पन्न भएपछि कुश्माबजारवासीलाई चौविसै घण्टा पानी वितरण गर्न सकिने भएको छ । उक्त योजनामा रति खोला र जहरेखोलावाट पानी ल्याईने भएको छ ।
कार्यक्रममा स्वागत उपाध्यक्ष तुप्ला शाक्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गणेश बहादुर भण्डारी र संचालन सचिब कमलनाथ शर्माले गर्नुभएको थियो ।
सो अवसरमा संस्थालाई विभिन्न क्षेत्रवाट सहयोग पुर्याउनेहरु, पुव अध्यक्ष लगायतलाई सम्मान समेत गरिएको थियो ।