बाढी र पहिरोको जोखिम : पर्वत प्रशासनद्वारा उच्च सतर्कता अपनाउन अपिल - News site from Nepal

पर्वत १८ असोज – मनसुन सक्रिय भई बाढी, पहिरो, डुबान र सडक अबरुद्धजस्ता सम्भावित प्राकृतिक प्रकोपहरूको जोखिम उच्च भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कता अपनाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमान अनुसार असोज १७ गतेदेखि आगामी केही दिनसम्म गण्डकी प्रदेशसहित देशको मध्य तथा पूर्वी भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले संभावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ कि अत्यावश्यक कामबाहेक दिउँसो वा रातको समयमा यात्रा नगर्न र यात्रा गर्नु परेमा मौसम विज्ञान विभाग तथा सम्बन्धित सरकारी निकायबाट प्राप्त आधिकारिक सूचनाको पालना गर्न जरुरी छ । बाढीपहिरोको उच्च जोखिम भएका स्थानहरूमा बसोबास गरिरहेका नागरिकहरूलाई विशेष सतर्क रहन र सम्भावित जोखिमयुक्त स्थानबाट अन्य सुरक्षित स्थानतर्फ स्थानान्तरण हुने पूर्वतयारी राख्न पनि प्रशासनले आह्वान गरेको छ ।

जोखिमयुक्त क्षेत्रका बासिन्दाले आकस्मिक अवस्था आइपर्दा आवश्यक हुने औषधि, खाद्यान्न, महत्त्वपूर्ण कागजातहरू तथा आवश्यक सामग्री समयमै तयारी अवस्थामा राख्न सूचनामा भनिएको छ । सम्भावित अवरोधलाई ध्यानमा राख्दै राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकहरूमा यात्रा गर्दा सावधानी अपनाउन र यथासम्भव यात्रा टार्न समेत अनुरोध गरिएको छ ।

प्रशासनले कालीखोला, मध्यपहाडी लोकमार्ग, र अरू संवेदनशील सडक खण्डहरूमा अवरोध आउन सक्ने भएकाले वैकल्पिक मार्ग वा पूर्वजानकारीसहित यात्रा गर्न सुझाव दिएको छ । साथै, सम्बन्धित सरकारी कार्यालय, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला संस्थाहरूले संभावित जोखिम व्यवस्थापनका लागि आवश्यक तयारीमा जुट्न निर्देशन दिएको छ ।

नेपाल रेडक्रस, सामाजिक संस्था, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकाय तथा जनप्रतिनिधिहरूसँग समन्वय गरी पूर्वतयारी तथा आवश्यक उद्धार व्यवस्थापनमा सहकार्य गर्न प्रशासनले जोड दिएको छ । कुनै पनि विपद् सम्बन्धी सूचना तुरुन्तै स्थानीय प्रशासन, सुरक्षा निकाय वा जनप्रतिनिधिलाई जानकारी गराउन पनि आग्रह गरिएको छ, जसले आपतकालीन व्यवस्थापनमा सहयोग पुर्‍याउने छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेद्धारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै पक्षलाई संभावित जोखिम न्यून गर्न पूर्वतयारीसहितको उच्च सतर्कता अपनाउन पुनःपुनः अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!