पर्वत- पर्वत जिल्लाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो सातौँ अधिवेशन र २१ औँ वार्षिक साधारण सभा नजिकिँदै गर्दा सात दिनसम्म चल्ने विविध कार्यक्रम सार्वजनिक गरेको छ। कुश्मामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले अधिवेशनको तयारीसहितका सम्पूर्ण कार्यक्रमको रूपरेखा सार्वजनिक गरेको हो।
कार्यक्रमको जानकारी दिंदै अध्यक्ष पशुपति कार्कीले प्रतिष्ठानले यही कात्तिक १६ गतेदेखि २२ गतेसम्म सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक सातवटा गतिविधि सञ्चालन गर्न लागेको बताउनुभयो।
उहाँका अनुसार अधिवेशनअघिको पहिलो दिन पत्रकार सम्मेलन गरिएको छ भने, कात्तिक १७ गते जिल्ला समन्वय समितिको सभा हलमा लोक दोहोरी विषयक अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछ।
कात्तिक १८ गते कुश्मा नगरपालिका–२ खुर्कोट बोडिस्वारामा कुर्सी हस्तान्तरण कार्यक्रम, र कात्तिक १९ गते नयाँ पुल, खरेहा र गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा होर्डिङ बोर्ड मर्मत तथा कुसन हस्तान्तरण कार्यक्रम हुनेछ।
त्यसपछि, कात्तिक २० गते बागलुङस्थित मानव सेवा आश्रममा भोजन कार्यक्रम, कात्तिक २१ गते कुश्माको युनिभर्सल पार्टी प्यालेसमा जिल्लास्तरीय दोहोरी गीत प्रतियोगिता, र अन्तिम दिन कात्तिक २२ गते सोही स्थानमा महिला कलाकार सम्मान, आर्थिक सहयोग तथा मुख्य अधिवेशन कार्यक्रम आयोजना गरिनेछ।
अध्यक्ष कार्कीले तीन वर्षअघि दीपक गदालको कार्यकालपछि नेतृत्व सम्हाल्दै प्रतिष्ठानलाई नयाँ ऊर्जासहित अघि बढाएको बताउँदै विगत तीन वर्षमा गण्डकी प्रदेशमा दुई पटक र केन्द्रमा एक पटक देशकै उत्कृष्ट जिल्ला समिति बन्न सफल भएको स्मरण गराइन्।
उहाँको नेतृत्वमा प्रतिष्ठानले विपन्न बालबालिकालाई सहयोग, कलाकार सम्मान, बृक्षरोपण, सरसफाइ अभियान, सडक महोत्सव, दोहोरी प्रतियोगिता, दीर्घ रोगी र असहायका लागि राहत सहयोग लगायतका सयौँ सामाजिक तथा सांगीतिक गतिविधि सम्पन्न गरेको छ।
आगामी अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संस्थाको भावी योजना र दिशा तय गर्ने अपेक्षा गरिएको छ। पर्वत प्रतिष्ठानले विगतका उपलब्धिहरूलाई आधार बनाएर यसपटकको अधिवेशनलाई सांस्कृतिक एकता र सिर्जनशीलता प्रदर्शनको उत्सवका रूपमा मनाउने तयारी गरेको जनाएको छ। कार्यक्रममा पत्रकारहरुले विभिन्न जिज्ञाशा राखेका थिए । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले साताब्यापी कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।






