पर्वतमा वर्षेनी कोदो बालीको क्षेत्रफल साँघुरिँदै, उत्पादन घट्दै - News site from Nepal

पर्वत-  बढ्दो युवा पलायन, बाँदर आतंक, र जनशक्तिको अभावका कारण पर्वतमा बर्षेनी कोदो बाली लगाउने क्षेत्रफल घट्दै गएको छ ।

जनशक्ति अभावले उत्पादनमा भन्दा लागत बढी लाग्ने भएपछि कोदोबालीतर्फ कृषकको आकर्षण घट्दै गएको हो । कोदोवाली विस्तारका लागि स्थानीय तह तथा गण्डकी प्रदेश सरकारले समेत विभिन्न कार्यक्रम संचालन गरेको भएपनि क्षेत्रफल बढ्न सकेको छैन । जिल्लाका ६१ वटै वडामा कोदोको उत्पादन हुने गरेको छ ।

पर्वतमा गत आर्थिक वर्षमा सात हजार आठ सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जिल्लामा १५ हजार एक सय एक हेक्टर पाखो जमिनमा कोदो खेती गर्न सकिने भएपनि अहिले सात हजार तीन सय ४० हेक्टरमा मात्र कोदो उत्पादन भैरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कार्यालयकी बाली संरक्षण अधिकृत सोविता सुवेदीले धान पछिको दोस्रो मुख्य खाद्यान्न बालीको रुपमा उपभोग हुने कोदो स्वाथ्यको दृष्टिले महत्वपुर्ण भएपनि उत्पादनमा झन्झटिलो प्रकृया रहेका कारण कृषकहरुमा कोदो उत्पादनमा आकर्षण बढ्न नसकेको बताउनुभयो ।

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठुला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेपनि जिल्लामा व्यावसायिक रुपमा कोदोको खेती गर्नतर्फ कृषकलाई आकर्षित गर्न नसकिएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पर्वतले रैथाने वाली उत्पादन प्रवद्र्धन कार्यक्रम अन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा कृषकहरुलाई बिऊ तथा उपकरणहरु वितरणका लागि रु. २० लाख रुपैया बिनीयोजन भएको छ । उक्त बजेटवाट कृषकलाई यान्त्रिक हलो र थ्रेसर मेशीन, बिऊ लगायतको सहयोग वितरण गरिने सुवेदीले बताउनुभयो ।

उक्त सहयोगले खेतवारी खनजोत गर्न र उत्पादन भैसकेपछि कोदो झार्न सहज हुने भएको छ । कृषकहरुलाई कार्यबोझ घट्नुका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्धेश्यले गत वर्षदेखिनै यान्त्रिकिकरणमा सहयोग गरिएको कार्यालय प्रमख परशुराम अधिकारीले जानकारी दिनुभयो ।

यस बाहेक रैथाने जातका वालीको रुपमा रहेका फापर, धान, जौ, कोदोको प्रशोधनका लागि समेत उक्त अनुदान वितरण गरिने भएको छ । पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ ।

पछिल्लो केही वर्षयता पर्वतको कुश्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उहाँको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताउनुभयो ।
मुख्यगरी मधुमेह र ग्याष्ट्रीक रोगवाट पिडितहरुले कोदोको परिकार बढि मात्रामा खाने गरेका छन् । अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन पनि प्रयोग गर्दै आएका छन् । भने बजारमा विभिन्न परिकार बनाएर विक्रि गर्ने प्रचलन बढ्दै गएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!