पर्वतको लिदिखोलामा बनेको मोटरेबल पुल पुर्वाधार मन्त्री केसीद्धारा उद्घाटन - News site from Nepal

पर्वत २३ मङ्सिर ः पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल संचालनमा आएको छ ।

गत भदौमै निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिवार उद्घाटन गर्नुभएको छ । डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै गत भदौमै सम्पन्न भएको थियो ।

पुल उद्घाटन गर्दै मन्त्री केसीले थुप्रै विकास निर्माणका कार्यक्रमहरु अलपत्र परिरहेका बेला निर्धारित समय भन्दा पनि अगावै सम्पन्न गरेकोमा निर्माण व्यावसायीको प्रसंसा गर्नुभएको छ । मुलुकको विकास र समृद्धिका लागि संचालित योजनाहरु समयमै सम्पन्न हुनुपर्ने उहाँको भनाई छ । आफु मन्त्री भएपछि पहिलो समाचार सोहि पुल निर्माण सम्पन्न भएको सुनेको बताउँदै दिगो र गुणस्तरीय विकास आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो । प्रदेश सरकारले केही गरेन भन्नेहरुका लागि गाउँगाउँमा भइरहेका विकास निर्माणका काम नै जवाफ भएको मन्त्री केसीले बताउनुभयो । ‘धेरैले प्रदेश सरकार आवश्यक छैन भनेर कुरा नबुझी बोलेको पनि सुनिरहेको हुन्छु,’ उहाँे भन्नु्भयो, ‘गाउँगाउँमा प्रदेश सरकारले जनताको सहजताका लागि आफ्नो स्रोतसाधनले भ्याएसम्म काम गरेको छ । ती काम र उपलब्धी नै प्रदेश सरकारप्रति उठ्ने प्रश्नको जवाफ हुन् ।’

चालु आर्थिक वर्षमा पनि धेरै मोटरेबल पुल र सडकहरु निर्माणको चरणमा रहेको बताउँदै निर्धारित समयमै सम्पन्न गर्नका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । पुल निर्माणसँगै लामो समयदेखि नागरिकले पाउँदै आएको सास्ती हटेको उहाँको भनाई छ ।

१८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै गत भदौमै सम्पन्न भएको पुर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।
मोदी गाउँपालिको वडा नंं. ६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिंगल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । रु. दुई करोड ५३ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको पुल निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सन पर्वतले पाएको थियो । यो पुलको भारबहन क्षमता ७० टन रहेको छ ।

अनुकुल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामाग्रीको सहज उपलब्धता र स्थानीयवासीवाट सहज वातावरण निर्माण भएकाले निर्धारित समय भन्दा ६ महिना अगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यावसायी चेतनारायण आचार्यले जानकारी दिए । उनका अनुसार पुल निर्माण सम्झौता भने आगामी फागुन महिना सम्म रहेको थियो ।

यो पुल निर्माण पछि मोदी गाउँपालिकाको वडा नं. ७ राम्जा, वडा नं. ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं. ११ पकुवा र वडा नंं १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन समेत संचालन हुन थालिसकेको पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।
विगतका वर्षहरुमा वर्षायामको बेला खोलावाट वारपार गर्न नसकेर यातायात सुविधावाटै बञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दाहरु यस वर्षदेखि सहज रुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । स्थानीय सडक पुल कार्यक्रम एलआरविपि र प्रादेशिक सडक पुल सहयोग इकाई पिआरवि एसयुको प्राबिधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीयवासीको राम्रो साथ र निर्माण ब्यवसायीको अग्रसरताका कारण सम्पन्न गर्नुपर्ने मिति भन्दा सात महिना अघि नै सम्पन्न भएको कार्यालयले जनाएको छ ।

पुल उद्घाटनका क्रममा जग्गा दाता तथा निर्माण ब्यावसायिलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर महेन्द्र बाँनिया, एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा लगायतले बोल्नुभएको थियो । पुलको बिस्तृत जानकारी पुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!