भोलीदेखि पर्वतमा ‘एक चिहान’ नाटक प्रदर्शन हुँदै - News site from Nepal
भोलीदेखि पर्वतमा ‘एक चिहान’ नाटक प्रदर्शन हुँदै

पर्वत- वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ । ०५२/५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको भए पनि त्यसयता भने जिल्लामा नाटकको अभ्यास भएको छैन ।

‘स्क्रिन’ को मात्रै अवसर पाएका पर्वतवासीहरुले जिल्लामा नै नाटकको जीवन्तता, कला, मिहिनेत, व्यवस्थापनको बारेमा जान्न नपाएको बेलामा यो अवसर अब पोखरा थिएटरले दिने भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा पछिल्लो केही वर्षयता बर्सेनि र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा प्रदर्शन भएको साहित्यकार हृदयचन्द्रसिंह प्रधानको उपन्यास ‘एक चिहान’ पर्वतमा पहिलो पटक प्रदर्शन गर्न लागिएको हो । शनिवार साँझदेखि २२ गते सम्म प्रदर्शन गरिने भएको छ । शनिवार साँझ पहिलो शो मा जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिििनधि, कर्मचारी, शिक्षक, समाजसेवी र पत्रकारलाई सहभागि गराईने भएको छ भने अन्यदिन विद्यार्थीहरुका लागि प्रदर्शन गरिने भएको छ ।
विद्यालय तहको कक्षा १२ को अनिवार्य नेपाली विषयमा विद्यार्थीले अध्ययन गर्नुपर्ने उक्त कृतिलाई नाट्य रूपान्तरण गरेर विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक परिवर्तनले बताए ।
नाटक विद्यार्थीको सिकाइका लागि पनि सहयोगी बन्ने अपेक्षा गरिएको उनको भनाइ छ। नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित यो नाटक सामाजिक यथार्थवादी नाटक हो।
गरिबी, बाध्यता र विवशताको परिवेशमा न्यूनवर्गीय जीवनका जटिलता र सङ्घर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ। नेवारी पोसाक, नेवारी लवजले नाटकलाई परिपक्व बनाउन सघाएको छ।
पर्वत सदरमुकाम कुश्मा बजार र आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी नाटक मञ्चन गरिएको हो। पर्वत उद्योग वाणिज्य सङ्घको सभा हलमा अस्थायी ‘थिएटर’ निर्माण गरेर साउन २०, २१ र २२ गते दैनिक ३ ‘शो’ नाटक मञ्चन गरिनेछ ।
नाटकमा जनक पराजुली, रोशनी रामदाम‚ प्रमीला तुलाचन, रवीन्द्र मल्ल, उमा पुन, प्रकाश रेग्मी, एलिसा भोग, दिप्सना विश्वकर्मा, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, परिवर्तन, अजय जिसी‚ रोहित पौडेल, रुबीना मगर, प्रतीक घिमिरेलगायतको अभिनय रहेको छ।
उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण नाटकका निर्देशन परिवर्तनले नै गरेका हुन्। नाटक झन्डै १ घण्टा ३० मिनेटको छ ।

नाटकको विस्तारीकरण र दर्शक बढाउनको लागि ‘गण्डकी नाट्य यात्रा’ अभियान शुरु गरेर प्रदेशका ११ वटै जिल्लाहरूमा मञ्चनको तयारी गरिएको छ तर हिमालपारीका दुई जिल्लाहरू मनाङ र मुस्ताङमा भने प्रदर्शनको सुनिश्चितता भइसकेको छैन।
पोखरामा नाटकको राम्रो विकास भइरहेको भए पनि प्रदेशका अन्य जिल्लामा अहिलेको पुस्ताले नाटकको बारेमा थाहा नै नपाएको अवस्था रहेको र आफ्नो अभियानले यसको अभाव पूर्ति गर्ने निर्देशक परिवर्तनको भनाइ छ।
आजभोलिका विद्यार्थीहरूले अध्ययनबाहेकको अधिकांश समय ‘स्क्रिन’ मा बिताउने गरेको र यसले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पार्दै गइरहेको स्थितिमा यसको समाधानको लागि पनि नाटक उपयोगी हुने उनको विश्वास छ।
नाटक हेर्ने अवसर नपाएसम्म नाटक र चलचित्रमा खेल्ने कल्पना विद्यार्थीले नगर्ने भएकाले आगामी कलाकार जन्माउनको लागि र विद्यार्थीहरूलाई सृजनशील बनाउनको लागि पनि यो अभियानले सहयोग पुग्ने परिवर्तन बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!