‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न - News site from Nepal
‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न

पर्वत : पर्वत साहित्य सङ्गम र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा ‘धौलागिरिका कवि र कविता’ विषयक साहित्यिक गोष्ठी सम्पन्न भएको छ।
साबिकको धौलागिरिका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा कविता लेख्ने क्रमको सुरुवात भएको प्राचिन अवस्थादेखि आधुनिक कालसम्मको अवस्थामा भएका विकासक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै त्यसमाथि छलफल भएको छ। साहित्यका क्षेत्रमा विगतदेखि नै प्रभावशाली लेखकहरु यस क्षेत्रमा रहँदै आएकोमा यसको थप विकासको लागि साहित्यिक क्षेत्रमा गर्न सकिने सम्भावनाहरुको बारेमा गोष्ठीमा कुराहरु राखिएका छन्।

कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले साहित्यकार बन्नका लागि सुख प्राप्त हुने ठाउँमा जन्मनुपर्ने नभई खरको छहारीमा जन्मेकै भए हुने बताए। नेपालका झुपडीमा जन्मिएका साहित्यकारहरुले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको भन्दै उनले साहित्यकारमा अध्ययनशीलता आवश्यक हुने गरे। नेपाली साहित्यका एक धरोहर लक्ष्मीप्रसाद देवकोटा अध्ययनकै कारण धेरै भाषाका ज्ञाता बन्दा साहित्यिक सफलता प्राप्त भएको उल्लेख गर्दै कुलपति खड्काले धौलागिरि क्षेत्रका कवि तथा साहित्यकारहरुले गरेको योगदानको बारेमा थप अध्ययन र अनुसन्धान गरिनुपर्ने बताए। प्राचिन कालदेखि नै यस क्षेत्रका साहित्यकारहरुले नेपाली साहित्यको विकास प्रभाव राख्दै आउनुले धौलागिरि क्षेत्र साहित्यको उर्बरभूमि भएको उनको भनाइ थियो।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानलाई बिकेन्द्रीकरण गरी केन्द्रबाट प्रदेशमा पनि विस्तार गर्दा प्रदेशमा रहेका कला र संस्कृतिको खोजी र अध्ययनमा सहज भएको बताए। प्रतिष्ठान स्थापना भएलगत्तै कोभिडको सङ्क्रमण फैलिँदा सोचे अनुसारको काम गर्न नसकेको भए पनि पछिल्ला दिनमा भने प्रतिष्ठानले हरेक जिल्लामा रहेका कला, संस्कृति र भाषाको संरक्षणमा काम गरिरहेको जानकारी दिए। गण्डकी प्रज्ञा प्रतिष्ठानले स्रष्टाको बिमा गर्ने कार्यक्रम ल्याउनु महत्वपूर्ण भएको बताउँदै पौडेलले धौलागिरि क्षेत्रमा रहेका त्यस्ता महत्वपूर्ण विषयमा थप खोजी गर्न यस क्षेत्रका साहित्यकारहरुमा अनुरोध गरे।

कार्यक्रममा प्राध्यापक डा.षडानन्द पौडेलले बिमर्शपत्र प्रस्तुत गर्दै राज्यका निकायले धौलागिरि क्षेत्रका कवि र कवितालाई सुर दिनसक्नुपर्ने सुझाव राखे। पार्वतीको जन्मभूमि समेत रहेको यस क्षेत्र धार्मिक र साहित्यिक रुपमा प्राचिन समयदेखि नै सक्रिय रहेको प्रमाण म्याग्दी राखुदेखि प्रकाशन भएका पुस्तहरुको रहेको उनको भनाई थियो। श्रीमद्भागवतमा समेत यस क्षेत्रको भूगोलको बारेमा वर्णन गरिएको भन्दै प्राध्यापक डा. पौडेलले नेपालको साहित्यमा विशेषतः कविताका माध्यमबाट धौलागिरि क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए। कतिपय प्रमाणहरुले नेपालको साहित्य अन्तर्गत कवितालेखनमा धौलागिरि नै पहिलो भएको प्रमाणहरु देखिएका भए पनि त्यसको आधिकारिक पुष्टी नभएको पौडेलको भनाई थियो।
कार्यपत्रमाथि समीक्षा प्रस्तुत गर्दै प्राध्यापक डा. दिनबहादुर थापाले कुनै बेला प्राचिन सभ्याता र संस्कारले भरिएको नेपाल विस्तारै पाश्चात्य शैलीको मारमा पर्दै तर्क गरे। मौलिक रचना र कलामा रमाउने परम्परा छोडेर आफ्ना सन्तान कुनै देशमा पुगेको कुरामा गर्व गर्ने परम्पराले मौलकता सङ्कटमा पर्दै गएको उनको भनाई थियो। धौलागिरि क्षेत्रको साहित्यको विकासमा जनतातीहरुको योगदान पनि महत्वपूर्ण रहेको धेरै उदाहरणहरु भेटीएको भन्दै थापाले अब पनि संस्कृतिप्रति चिन्ता नगर्ने हो भने नेपालको मौलिक कला र इतिहास नै सङ्कटमा पर्न सक्ने जोखिम देखाए।
रचना वाचन सहित कार्यक्रममा उपस्थित भएकी कुश्मा नगरपालिकाकी उपप्रमुख स्वथानी रिजालले नेपाली साहित्यको श्रीबृद्धिमा बिज्ञहरुले गर्दै आएका कामहरु महत्वपूर्ण रहेको बताइन्। साहित्यको शक्तिले मानव स्वभावमा परिवर्तन ल्याउन सक्ने भन्दै उनले रचनाले व्यक्तिलाई मुग्ध बनाउने उल्लेख गरिन्। साहित्यको विकासका लागि कुश्मा नगरपालिका हरदम तयार रहेको भन्दै उपप्रमुख रिजालले आगामी दिनमा गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा काम गर्न कुश्मा नगरपालिका तयार रहेको जानकारी गराइन्।

कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको उद्वेश्यबारे बोल्दै सङ्गमका पूर्व अध्यक्ष राजेन्द्र पहाडीले धौलागिरि क्षेत्रमा स्थापित साहित्यिक रेखामा खोतल्ने मौका दिएकोमा गण्डकी प्रज्ञा प्रतिष्ठानप्रति धन्यवाद ज्ञापन गरे। बर्षौ पुराना प्रमाणहरुलाई अध्ययन गर्दा धौलागिरि क्षेत्र बिगतदेखि नै साहित्यमा उत्सुक र सक्रिय रहँदै आएको भन्दै उनले प्राचिन साहित्यको खोजी र संरक्षणमा प्रज्ञा प्रतिष्ठानले अझै धेरै चासो दिने विश्वास व्यक्त गरे।
कार्यक्रमकै अवसर पारेर पर्वतका साहित्यकार गोविन्दप्रसाद भुसाालको गीति सङ्ग्रह ‘पुष्पाञ्जली’ को बिमोचन गरिएको छ। पुस्तकको बिमोचन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति ‘बिखर्ची’, सदस्य पौडेल, लगायतले गरेका थिए। यस्तै साहित्य, कला, भाषा, संस्कृति लगायतको संरक्षणमा महत्वपूर्ण काम गर्दै आइरहेको भन्दै ‘बिखर्ची’ र पौडेललाई सङ्गमले सम्मान पनि गरेको छ।

कार्यक्रममा डण्डपाणी शर्मा पौडेल, होमनाथ शर्मा, कमलादेवी पौडेल, ईश्वर सत्य, सरस्वती शर्मा जिज्ञासु, शान्तिनारायण श्रेष्ठ, टुकनाथ रेग्मी, सुन्दरप्रसाद जोशी, निर्मल पौडेल, दिपसागर पौडेल, गीता अधिकारी, द्रोणराज पौडेल लगायतले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए।
सङ्गमका अध्यक्ष डि.आर शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब गोकुल शर्माले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!