
काठमाडाैं –स्थानीय तहको निर्वाचन नजिकै आउँदा पनि अछाममा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा परेका छन् ।
मतदाता शिक्षाबिना मत बदर हुने डर मतदातामा रहेको छ । आफूलाई मतदानका लागि घर–घरमा पुगेका उम्मेदवारहरूले पनि मत सदर हुने गरेर कसरी मतदान गर्ने भन्नेमा नबताउने गरेको भनाइ छ ।
हामीलाई यो चिह्नमा मात्रै मत हाल्नु भन्छन् तर कसरी हाल्ने भन्नेमा कसैले सिकाउँदैन । मङ्गलसेन नगरपालिका–५ का कोकिला जैसीको भनाइ छ । “भोट कसरी हाल्ने भन्नेमा अहिलेसम्म कसैले भनेको छैन, मलाई भोट देओ भनेर मात्रै आउँछन्,” जैसीले भने।
स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडा सदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । अझै कतिपय स्थानमा गठबन्धनका उम्मेदवार भएकाले तलमाथि चिह्नमा मत हाल्नुपर्ने भएकाले मतदाता अल्मलिने आशङ्का गरिएको छ । गठबन्धनमा मतदाताले सही रूपमा मत हाल्न नसकेमा बदरको सङ्ख्या बढी हुने भनाइ छन् । निर्वाचन आयोगले यस पटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा सञ्चालन नगरेको स्थानीयको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।