आगामी निर्वाचनमा एमालेको एकल बहुमत : अध्यक्ष ओली - News site from Nepal
आगामी निर्वाचनमा एमालेको एकल बहुमत : अध्यक्ष ओली

भरतपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउने निर्वाचनबाट एमाले सबैभन्दा ठूलो शक्ति बन्ने र सरकार बनाउने दावी गर्नुभएको छ ।

चितवनको भरतपुरमा नारायणी नदी किनारमा आयोजित एमाले दशौं महाधिवेशनको उदघाटनसत्रमा आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो दावी गर्नुभयो । एमाले चुनावको तयारीमा जुटिसकेको चर्चा गर्नुहुँदै उहाँले अवको अभियानमा नागरिकलाई एमालेमा प्रवेश गराउने अभियान शुरु हुने बताउनुभयो । महाधिवेशन सम्पन्न हुनेवित्तिक पूर्व लडाकुको व्यवस्थापन गरिने चर्चा गर्नुभयो । एमालेमा प्रवेश गर्न पूर्व लडाकुहरु तयारी अवस्थामा रहेको उहाँले दावी गर्नुभयो ।

नेपालमा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमाले कटिवद्ध रहेको र पारस्परिक हित र लाभका आधारमा छिमेक एवम् अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने पक्षमा रहेको बताउनुभयो । छिमेकीसँग केही समस्या छन् भने छलफलको माध्यमबाट समाधान गर्ने पक्षमा एमाले रहेको उहाँले चर्चा गर्नुभयो । एमालेको नीति विद्वेष र विरोधको नभएर राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्ने रहेको चर्चा गर्नुभयो ।

लिम्पियाधुरा, कालापानीसहित नेपाली भूभाग संवादको माध्यमद्वारा फिर्ता लिने प्रतिवद्धता जनाउनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामी छिमेकीसँग कटुता र बैमनस्यता बढाउने पक्षमा छैनौं, संवाद र छलफलको माध्यमबाट समस्या समाधान गर्ने पक्षमा छौं ।” हाम्रो परराष्ट्र नीति पनि विश्वका राष्ट्रसँग सहकार्य र सहअस्तित्वको आधारमा सम्बन्ध बनाउने रहेको उहाँले चर्चा गर्नुभयो ।

देशमा सबैभन्दा बढी जनताले मन पराएको शक्ति एमाले भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकको सामन्ती शासन, राणा, राजतन्त्रको अवशेष फाल्नेदेखि मुलुकको रुपान्तरणमा महत्वपूर्ण भूमिका एमालेले निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने ऐतिहासिक अभिभारा एमालेले बोकेको पनि उहाँले बताउनुभयो ।

आउँदो चुनावपछि बन्ने एमाले नेतृत्वको सरकारले विकास निर्माणका बाँकी काम पूरा गर्ने पनि अध्यक्ष ओलीले चर्चा गर्नुभयो । नेपाललाई अब गरिब रहने छुट नरहेको बताउनुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “देश बनाउनका लागि एमालेको झण्डामुनी सबै गोलबद्ध हुनुहोस्, देश काम्रै नेतृत्वमा बन्छ ।” देश बनाउने सबै शक्तिहरुलाई एमालेमा गोलबद्ध हुन पनि उहाँले आव्हान गर्नुभयो । लामो समय भएपनि शान्तिप्रक्रिया नटुङ्गिएकोमा उहाँले शान्ति प्रक्रिया चाँडै टुङ्गो लगाउन आवश्यक रहेको बताउनुभयो ।

निकट भविष्यमा निर्वाचनहरु आउँदैछ, अब एमाले चुनाव र जनमतको तयारीमा जानुपर्छ उहाँले पार्टी पङ्तिलाई निर्देश गर्नुभयो । “देश बनाउन र सार्वभौमसत्ताको रक्षाका लागि बहुमत ल्याउनुपर्ने छ, सरकार बनाउनका लागि होइन” अध्यक्ष ओलीले थप्नुभयो, “अव नौ वर्षभित्र दीगो विकास लक्ष्य हासिल गर्नुछ, छोटो समयभित्र नेपाललाई समृद्ध र साधनस्रोत सम्पन्न देश बनाउनुपर्नेछ ।”

एमालेले बलिदानको ७२ वर्ष पार गरेको पार्टी भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “वास्तविक अर्थमा क्रान्तिकारी र अग्रगामी परिवर्तनका लागि आवश्यक नीति तर्जुमा र कार्यान्वयन गर्ने पार्टी हो एमाले ।” एमालेको महाधिवेशनलाई विश्वभरबाट नागरिकले हेरिरहेको उहाँले बताउनुभयो । एमालेजस्तो कार्यक्रम अरु दल र शक्तिले पनि सिक्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।

लोकतन्त्र समृद्ध राष्ट्र निर्माण, समृद्ध नेपाल र सुखी नेपालीका लागि चाहिएको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “नेपाली जनताका लागि बनाइएको संविधान नेपाली जनताको आवश्यकता र औचित्यताको आधारमा संशोधन गर्न सकिन्छ, हामी त्यो मान्यतामा छौं ।” हिजोका दिनमा हिंसात्मक गतिविधि गरिरहेका शक्तिलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराइएकाले अव नेपालमा समूहगत हिंसा नरहेको उहाँले बताउनुभयो ।

नेपालमा लगानीको वातावरण तयार रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न उहाँले आव्हान गर्नुभयो । नेपालमा राजनीतिक समस्या समाधान भइसकेकाले राजनीतिक सहमतिकै आधारमा देशलाई समृद्ध बनाउने अवको बाटो रहेको अध्यक्ष ओलीले चर्चा गर्नुभयो ।

एमालेको दशौं महाधिवेशनमा आएर देशको प्रधानमन्त्री शेरबहादुर देउवाले गरिमा बढाइदिनुभएकोमा अध्यक्ष ओलीले धन्यवाद व्यक्त गर्नुभयो । विदेशी पाहुनाहरुको महत्वपूर्ण उपस्थितिका लागि उहाँले सबै पाहुनाप्रति कृतज्ञता व्यक्त गर्नुभयो । एमाले सामाजिक सदभाव राष्ट्रिय एकताको पक्षमा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेको महाधिवेशनको निम्तो स्वीकार गरी कार्यक्रममा आउनुभएका सबै विदेशी पाहुना, देशका राजनीतिक दलका शीर्ष नेताहरु, कार्यक्रममा सहभागी सबै नागरिक, शुभेच्छुक सबैमा अध्यक्ष ओलीले स्वागत तथा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा उत्साहपूर्ण सहभागिताका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!