एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल–खनाल समूह नजाने - News site from Nepal
एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल–खनाल समूह नजाने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शनिबार) बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।
संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ । माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल–खनाल समूह गएको थिएन । ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् ।
उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ । सर्वोच्च अदालतले २३ फागुनमा एकीकृत पार्टी नेकपाको एकीकरण प्रक्रिया बदर भएको फैसला गरेपछि पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्रको विवाद भने झन्झन् चर्किंदै गएको छ ।
अदालतको फैसलापछि २८ फागुनमा अध्यक्ष केपी ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट कार्यविभाजन, विधान संशोधन र महाधिवेशनको मिति तय गरेपछि एमाले एकीकरणपूर्वको अवस्थामा पुग्नुको सट्टा उल्टै संगठनात्मक संरचना नै छिन्नभिन्न हुने गरी गतिविधि तीव्र भएका छन् । यतिवेला एमालेका वैधानिक कमिटी कमजोर र गुट बलिया भएका छन् ।

एमालेका दुवै समूह एक–अर्काको विरोध र बहिष्कारबीच समानान्तर गतिविधिमा व्यस्त छन् । ओली समूहले ७ चैतमा बोलाएको केन्द्रीय कमिटी र संसदीय दल बैठकमा नजाने खनाल–नेपाल पक्षले निर्णय लिएको छ । शुक्रबारको समूहको स्थायी कमिटी बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय लिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिएका छन् ।

‘हामीले धेरै भनेकै छैनौँ, चाहेको एकता नै हो । हामी एमाले बनाउनकै लागि फर्किएका हौँ,’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘त्यसका लागि उहाँ (ओली)ले २८ फागुनको निर्णय फिर्ता लिनैपर्छ । फिर्ता भयो भने बल्ल छलफल गर्न सकिन्छ । होइन भने आफ्नै तरिकाले अगाडि बढ्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!