ठडियो २२ तले धरहरा : गजुरमा सुनको जलप लगाउन बाँकी, वैशाख दोस्रो साता उद्घाटन - News site from Nepal

काठमाडौं –  लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ । धरहरामा राखिने गजुरको काम पनि सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको गजुरमा सुनको जलप लगाउन भने बाँकी छ । गजुरमा सुनको जलप लगाउन प्राधिकरणले एक सय २६ तोला सुन धरहरा निर्माण कम्पनीलाई दिने तयारी गरेको छ । प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ । ‘जलप लगाएको गजुर राखेपछि धरहरा निर्माण सम्पन्न हुनेछ,’ उनले भने ।

भूकम्पका कारण २२ टुक्रामा परिणत भएको गजुरलाई पहिलाकै जस्तो बनाउन गत माघदेखि काम थालिएको थियो । ‘हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौं,’ प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने, ‘प्रधानमन्त्री ज्यूले भन्नुभएअनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ ।’

प्राधिकरणका अनुसार लिफ्ट राख्ने काम पनि सकिएको छ । भ¥याङ, विद्युत्, रङ लगाउने काम बाँकी छ । ‘हाल गजुरमा सुनको जलप लगाउन बाँकी छ । प्राधिकरणले सुन उपलब्ध गराएको हप्ता दिनमा गजुरमा जलप लगाएर सकिन्छ । भ¥याङ, विद्युत्, रङको कामबाहेक अरु महत्वपूर्ण काम सकिएको छ,’ मानन्धरले भने ।

धरहरा वरपरको सबै काम समयमै गर्न कठिन
धरहराको काम सकिए पनि त्यसवरपर निर्माण हुने संरचना भने तोकिएकै समयमा सकिने सम्भावना छैन । धरहरा निर्माण दुई वर्षमा सम्पन्न हुने गरी २०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।

सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । सम्झौताअनुसार गत २० असोजभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेको थियो । तर, प्राधिकरणले नौ महिना समय थपेको छ ।

थपिएको समयमा पनि काम सम्पन्न गर्न चुनौतीपूर्ण रहेको विज्ञ इन्जिनियर मानन्धरले बताए । ‘तीन महिनामा काम सम्पन्न गाह्रो छ । बगैँचा बनाउने, बाटो बनाउनेदेखि काम अझै बाँकी छ,’ उनले भने, ‘दिनको दुई, तीन सिफ्ट काम गरेर, रातारात चार–पाँच सय कामदार राखेर गरियो भने काम सकिएला, होइन भने अहिले भएकोजस्तो सयजना कामदार राखेर गर्दा समयमा काम सम्पन्न हुँदैन ।’
धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । धरहरा निर्माण कार्यमा लकडाउनअघि कुल तीन सय ५० जनाले काम गरेका थिए । लकडाउन अवधिमा त्यो संख्या घटेर २०–२५ जनामा सीमित भएको थियो ।

यस्तो बन्दै छ धरहरा
धरहरा ऐतिहासिक सम्पदा भए पनि यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा हुँदै छ । यहाँ तीनतले सवारी पार्किङस्थल समेत निर्माण गरिनेछ । सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सःशुल्क पार्किङ गर्न सकिनेछ ।

न्युरोड क्षेत्रको पार्किङ समस्या हल गर्न यो सुविधा थप्न लागिएको प्राधिकरणले बताएको छ । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गर्ने गरी लिएको थियो ।
जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा भएको धरहराले ४२ रोपनी ओगटेको छ । प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहनेछ । भित्र छिरेपछि दुईतला भूमिगत हुनेछन् । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

पर्यटकको सुविधा निम्ति धरहरा चढ्न र ओर्लन दुईवटा लिफ्ट छुट्टाछुट्टै राखिएको छ । लिफ्टमा एकपटकमा आठ जनासम्म चढ्न सक्नेछन् । आकस्मिक अवस्थाका लागि खुड्किला पनि हुनेछ । नयाँ बन्ने धरहराको संरचना अपांगतामैत्री हुने प्राधिकरणले जनाएको छ । धरहराको २० औं तलामा ‘अब्जरभेसन डेस्क’ निर्माण गरिनेछ । यहाँबाट काठमाडौं उपत्यका दृष्यावलोकन गर्न सकिनेछ । बीस तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ ।

धरहराको १६ फिट अग्लो गजुर प्राधिकरणले आफ्नो संरक्षणमा राखेको छ । यो गजुर नयाँ धरहरामा पनि प्रयोग गरिनेछ । धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैँचा बनाइनेछ । बगैँचालाई ‘ह्यांगिङ गार्डेन’ नाम दिइएको छ । धरहरा पुनर्निर्माण क्रममा सुन्धारा पनि मर्मत गरिने प्राधिकरणले जनाएको छ ।

डिजाइनअनुसार धरहरा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहोरा बनाइनेछ । यहाँ संग्रहालयसमेत निर्माण गर्ने योजना छ । संग्रहालयमा पुराना सिक्का छाप्ने मेसिन राखिनेछ । धरहरामा राखिने पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । यसको १०औं तलामा मिनी थिएटर रहनेछ । जहाँ प्रोजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइनेछ ।

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए । उनले महारानी त्रिपुरासुन्दरी देवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ । त्यतिवेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो । त्यसपछि नौ तला पुनर्निर्माण गरिएको थियो । २०७२ को भूकम्पपछि लामो समय पुनर्निर्माण कसले गर्ने भन्ने विषयमा विवादकाबीच प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा पाएको थियो । नयाँ पत्रिका दैनिकबाट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!