पर्वत- नेकपा केन्द्रीय सदस्य तथा पूर्व सांसद पदम गिरीले मुलुकमा स्थिरता र स्थायित्व कायम गर्न संसद् विघटन गर्नुको बिकल्प नभएको बताउनुभएको छ ।
नेकपा कुश्मा नगर कमिटिको अगुवा कार्यकर्ता भेलालाई शनिवार कुश्मामा सम्वोधन गर्दै नेता गिरीले सत्तारुढ दलभित्रकै नेताहरुको षडयन्त्रकारी तानावाना बुनिरहेको र जसले मुलुकलाई फेरी पश्चगमनतर्फ धकेल्ने निश्चित देखेर संसद विगठन गर्न बाध्य पारिएको बताउनुभयो । मुख्यगरी प्रचण्ड र माधव नेपालले कुर्चि मोहमा सडकमा पुगेर विलाप गरेको बताउनुभयो । पदका पछि लाग्नेहरुले मुलुकलाई सिध्याउने बताउँदै जनताका लागि प्रधानमन्त्रीले रोजेको बाटो नै उत्तम रहेको बताउनुभयो ।
उहाँले सरकारले संसद् विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निणर्य गरेसँगै सरकारले अग्रगामी कदम चालिरहेको बताउन्दै अब कोहिपनि अलमलमा नपर्न आग्रह गर्नुभयो । नयाँ जनादेशमा जानुको विकल्प नभएको पनि उहाँको भनाई रहेको छ । मुलुकलाई फेरि स्थायित्व र समृद्धिको मार्गमा हिडाउनका लागि र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नको निम्ति नयाँ जनादेशले थप सहज बनाउने उहाँको भनाई छ । उहाँले देशमा स्थिरता नचाहने पक्षले संसद् पुनःस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको बताउँदै अब सडकवाट हैन बिचार र जनमतको आधारमा फैसला गर्नुपर्ने बताउनुभयो । नेता गिरीले अध्यक्ष र महासचिब सहितका माईन्यूटवाट भएको निणर्यनै आधिकारीक भएको बताउँदै विलाप गरेर सडकमा चिच्याउनुको कुनै अर्थ नहुने पनि बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल, मेघनाथ सुवेदीले सम्वोधन गर्दै कार्यकर्ताहरुलाई कुनै भ्रमजालमा नपरी मुल धार भनेकै मुख्य अध्यक्ष केपीले नेतृत्व गरेको, सुर्य चिन्ह मुल नेतृत्वमै रहेकाले भेट्नु कुहिएर चुडिएका फलजस्तै भएका प्रचण्ड र माधव नेपालका पछाडि नलाग्न आग्रह गर्नुभयो ।
नेकपा पर्वतका कार्यालय सदस्य गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न भेलाको स्वागत सचिबालय सदस्य शिवप्रसाद पौडेल र संचालन युवा नेता किशोर सापकोटाले गर्नुभएको थियो ।