पर्वत– पर्वत अस्पतालको तीसौ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।
महोत्सव स्थापनाको तीसौ वर्षको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, सरसफाई, हाजिरिजवाफ, मैत्रीपुर्ण फुटबल तथा सरसफाई लगायतका कार्यक्रम सम्पन्न भएका हुन् । साताव्यापी रुपमा आयोजित कार्यक्रम बिहीवार सम्पन्न भएको छ । कार्यक्रम समापनको अवसरमा अस्पताल विकास समितिका पुर्व अध्यक्ष शिवप्रसाद पौडेल र राधाकुमारी कुँवर क्षेत्रीलाई सम्मान गरिएको छ भने अस्पतालका उत्कृष्ट कर्मचारी र विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने समुहलाई पुरस्कृत गरिएको छ ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका संयोजक मनोहर बि पौडेलले अस्पतालको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो । पौडेलले जिल्लाको एकमात्र सरकारी अस्पताललाई नागरिकहरुको भरोसाको केन्द्र बनाउनुपर्ने बताउँदै सानोतीनो रोगको उपचारका लागि पनि पोखरा, काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालको गुणस्तर राम्रो भएमा मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, अस्पतालका पूर्व अध्यक्ष शिवप्रसाद पौडेल, राधाकुमारी क्षेत्री, अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटा लगायतले बोल्नुभएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अस्पतालका नायब सुब्बा कुलप्रसाद लामिछानेले गर्नुभएको थियो । सो अवसरमा निशुल्क सुगर परिक्षण पनि गरिएको थियो ।