प्रदेश पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि छलफल : स्थानीय जनप्रतिनिधिले देखेको सपना प्रतिविम्बित गर्न मन्त्रीको सुझाब - News site from Nepal

१८ बैशाख, २०७७/पोखरा

कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन व्यवसाय चौपट परिरहेका बेला गण्डकी प्रदेशको पर्यटन गुरुयोजनाको प्रारम्भिक मस्यौदामाथि आज पोखरामा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन क्षेत्रको विकासका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले ठूला–ठूला सपना देखेका छन् हाम्रो गुरुयोजनामा ती सपनाहरु प्रतिबिम्बित हुनै पर्ने बताएका छन् । आफ्नो गाउँ ठाउँमा भएका पर्यटकीय क्षेत्रको विकास गरी पर्यटक ल्याएर स्थानीय जनताको जीवन परिवर्तन गर्ने सबै तहका जनप्रतिनिधि र आम नागरिकको भावनालाई बन्दै गरेको गुरुयोजनाले आत्मसात् गर्नुपर्नेमा मन्त्री लम्सालको जोड रहेको थियो ।

तत्कालीन जिल्ला विकास समितिले बनाएका जिल्लास्तरीय पर्यटन गुरुयोजना र पछिल्लो समय स्थानीय तहहरुले बनाएका पर्यटन गुरुयोजना तथा रणनीतिक योजनाहरुलाई पनि यो गुरुयोजनामा एकीकृत गर्न मन्त्री लम्सालले सुझाब दिएका थिए । लकडाउनका कारण फिल्डस्तरमा काम गर्न तत्काललाई केही कठिनाई भएपनि जनशक्ति थपेर हुन्छ या रातदिन खटेर हुन्छ गुरुयोजना असार मसान्तभित्रै तयार गर्न मन्त्री लम्सालले परामर्शदातालाई निर्देशन समेत दिएका थिए ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णु बरालले बन्दै गरेको पर्यटन गुरुयोजना प्रदेशको पञ्चवर्षिय योजनासँग मेल खानुपर्ने बताएका थिए । त्यसैगरी सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेश भ्रमण वर्ष (२०१९–२०२२) का कार्यक्रम संयोजक जुद्ध गुरुङले गण्डकी प्रदेशको पर्यटनको मुख्य क्षेत्र प्रकृति, सँस्कृती र साहसिक खेल भएको हुँदा गुरुयोजना त्यसैको सेरोफेरोमा रहेर बन्नुपर्ने कुरामा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णप्रसाद ढकाल, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा, नाटाका सञ्जयकान्त सिग्देल, बागलुङका पर्यटन व्यवसायी अर्जुन चोख्याल तथा राज थापा, टान पोखराका महासचिव जीवनराज सापकोटा, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष के.पी. शर्मा लगायतले बन्दै गरेको गण्डकी प्रदेश पर्यटन गुरुयोजनाले समेट्नु पर्ने क्षेत्रका विषयमा आ–आफ्नो सुझाब दिएका थिए ।

गण्डकी प्रदेशको पर्यटन गुरुयोजनाको प्रारम्भिक प्रतिवेदनको प्रस्तुती परामर्शदाता संस्था नेष्ट–पिकासो–नेपाल आर्किटेक्टस् कन्सल्ट जे.भी.का प्रतिनिधि योगेशपूर्ण श्रेष्ठले गरेका थिए । गण्डकी प्रदेशले पर्यटन गुरुयोजना निर्माण गर्नका लागि उक्त संस्थालाई छनोट गरेको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक खरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले गरेका थिए ।

फोटो : फाइल

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari