पर्वत – इलाका प्रहरी कार्यालय लुंखुका असई कृष्णप्रसाद पनेरुलाई कुटपिट गरेको आरोपमा चैत ११ गते पैञ्यु गाउँपालिका—७ का २१ वर्षीय रोशन तिवारी र २५ वर्षीय सुवास तिवारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
चैत ११ गते दिउँसो कार्यालय समयमा महाशिला गाउँपालिकाको कार्यालयमा प्रवेश गरि त्यहाँ कार्यरत कर्मचारीहरुलाई हातपात गर्न खोजेको र तत्काल इलाका प्रहरी कार्यालय लुंखुबाट पुगेको प्रहरी टोलीले युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई कुटपिट गरेका थिए ।
पीडित पनेरुका अनुसार हतकडी लगाउने क्रममा आफुलाई कन्चटमा हानेर भागेको र तत्काल महाशिला गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहयोगमा गिरफ्तार गरिएको थियो ।
स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत रहेका पनेरुलाई कन्चटमा गहिरो चोट लागेको र उपचारका क्रममा ४ वटा सुचर (टाँका) लगाइएको पीडित पक्षकाे भनाइ छ ।
आरोपित युवाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत १२ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाएको छ । आरोपित युवाहरुको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतमा चैत १२ गते गरिएको प्रहरी कार्यालय मुद्दा शाखाका सबइन्स्पेक्टर मोहन खड्काले जानकारी दिनुभयो ।