पर्वतमा नेकपा र काँग्रेसको कार्यकर्ता तानातान, झुटा आश्वासनमा रुमलिँदै सर्वसाधारण - News site from Nepal

पर्वत – पर्वत जिल्लामा पछिल्ला दिनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका बिचमा पार्टी प्रबेश गराउने र फर्काउने प्रतिष्पर्धा नै चलेको छ ।
दुई पार्टीले अर्को पार्टीबाट कार्यकर्ता प्रबेश गराउने र फर्काउनका लागि दिनदिनै कार्यक्रम र प्रचारबाजी गरिरहेका छन । नेपाली कांग्रेसको महाधिबेशन लक्षित क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता दिने अभियानका नाममा पार्टी प्रबेश गराउन शुरु गरिएको ‘फोहोरी खेल’ मा अहिले दुई वटै पार्टी चुर्लुम्म डुब्न पुगेका छन ।


एक दिन एउटा पार्टीमा प्रबेश गरेको भनेर सार्वजनिक भएको भोलीपल्टै आफ्नै पार्टीमा फर्केको सार्वजनिक हुन्छ । पर्वतको कुस्मा नगरपालिका ८ चुवामा त यस्ता दृश्य हरेक दिन देखिन्छन अन्य पालिकामा पनि यस्तै दृश्यहरु दोहोरिएका छन । पार्टी प्रबेश गराउन अनेक आश्वासन दिने, धम्की पनि दिने काम भएको देखिन्छ । प्रबेश गराउन र फकाउन गरिएका क्रियाकलापले चुनाब अघिको झल्को दिन्छ । यस्ता खेललाई आम मानिसले ‘बेमौसमको बाजा’ का रुपमा बुझे पनि पार्टीका नेता कार्यकर्ताहरु भने ठुलै उपलब्धी भएको आत्मरतिमा रमाएको देखिन्छ ।

पछिल्लो पटक फलेबास नगरपालिका वडा नं ३ शंकरपोखरीमा असोज ५ गते नेकपाबाट नेपाली कांग्रेसमा प्रबेश गरेको भनिएका केही कार्यकर्ताहरु पूनः नेकपामा फर्किएका छन । उनीहरुले नेपाली कांग्रेसबाट नेकपामा फर्कने बेला एउटा गम्भीर आरोप नेपाली कांग्रेसलाई लगाएका छन ‘भूकम्पबाट भत्केका घरहरु बनाइन दिने आश्वासन सहित पार्टी प्रबेश गराइयो ।’ कांग्रेसबाट नेकपामा फर्केका ती कार्यकर्ताहरुले जारी गरेको बिज्ञप्तीमा ‘रातो कार्ड भएकाहरुलाई घर मिल्छ भनेर भेलामा बोलाइएकोमा नेपाली कांग्रेसको भेला रहेछ, भेलामा सम्मान स्वरुप अबिर टिका लगाएका हौ, पछि पार्टी प्रबेश गरेको भनेर हल्ला पिटाइयो, त्यो भ्रम हो।’ १४ जनाले हस्ताक्षर गरेको बिज्ञप्तीमा आफुँहरु नेकपामै रहेको दाबी गरिएको छ ।
नेकपा फलेबास नगरपालिका वडा नं ३ वडा कमिटीका अध्यक्ष कमल भुसालले समेत बिज्ञप्ती जारि गरेर भूकम्प पिडीतले गुनासो फारम भरेका रातो कार्डका अर्धकट्टी जर्बजस्ती संकलन गरेर पूननिर्माण प्राधिकरणमा हाम्रो मान्छे छन, हामी घर बनाईदिन्छौ भनेर पार्टी प्रबेश गराइएको दाबी गरेका छन । उनले नेपाली कांग्रेसले सोझा गाउँलेलाई झुटा आश्वासन मा फसाएको आरोप लगाएका छन । यसका बिषयमा कांग्रेसले अहिले सम्म आफ्नो धारणा सार्वजनिक गरेको देखिदैन ।
यसअघि कुस्माको चुवामा कांग्रेसमा प्रबेश गरेको भनिएका नेकपाका स्थानिय नेताहरु गोपालबहादुर नेपाली, सृजन पौडेल लगायतका कार्यकर्ताहरु फेरी नेकपामा फर्केका छन भने नेकपामा प्रबेश गरेका एक जना ब्यक्ति कांग्रेसमै रहेको भनेर बिज्ञप्ती पनि जारी गरेका छन । कुस्मा, जलजला , महाशिलामा पनि पार्टी प्रबेश गर्ने र फर्काउने काममा दुबै पार्टीै सक्रिय छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!