सभामुखको चर्काचर्की छाडेर चितवनमा प्रचण्डको ‘रिफ्रेसमेन्ट’ - News site from Nepal

सभामुख उम्मेदवार चयनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चलिरहेको चर्काचर्कीबीच कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृहजिल्ला चितवनतिर लागेका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले चितवनमा थारू समुदायले आयोजना गरेको माघी पर्वमा सहभागी हुन त्यतातिर जान लागेको लोकान्तरलाई बताए । ‘सामान्य कार्यक्रम हो, सहभागी भएर आजै (मंगलवार) फर्किने कार्यक्रम रहेको छ,’ सापकोटाले भने ।यद्यपि राष्ट्रिय राजनीति कुनै ठूलो घटनाक्रममा अल्झेको बेला प्रचण्ड कहिले सिन्धुपाल्चोक त कहिले चितवन जाने गरेका छन् । ‘रिफ्रेस’ हुनका लागि भन्दै १ साताअघि प्रचण्ड सिन्धुपाल्चोक पुगेका थिए ।

सभामुखका आकांक्षी मानिएका आफूनिकट नेता अग्नि सापकोटालाई लिएर सिन्धुपाल्चोकको कदमवासमा रात बिताएर उनी भोलिपल्ट राजधानी फर्के ।
सिन्धुपाल्चोक जानुभन्दा अघिल्लो दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए ।

देउवासँगको संक्रमणकालीन न्याय सम्पादनका लागि गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्त गर्ने विषय छलफल भएको थियो ।

शान्तिप्रक्रिया शुरू भएको १४ वर्षसम्म पनि द्वन्द्वपीडितलाई न्याय दिन उदासीन देखिएको भन्दै पछिल्लो समय प्रचण्डमाथि दबाब परिरहेको छ ।

प्रचण्डले एकातिर सभामुख चयनको विषयलाई लिएर पार्टीभित्र चर्किरहेको द्वन्द्वको असर र अर्काेतिर संक्रमणकालीन न्यायका सन्दर्भमा परेको दबाब झेलिरहेका छन् ।

मंगलवार प्रचण्ड चितवन जानुको कारण पनि ‘रिफ्रेसमेन्ट’ रहेको उनीनिकट एक नेताले बताए । ‘धेरै काम गरेपछि थकान हुन्छ नै, एक दिनका लागि भएपनि थकान मेट्न उहाँ कहिले कता, कहिले कता गइरहनुहुन्छ,’ ती नेताले लोकान्तरसँग भने, ‘यो चर्चा र बहसको विषय नै होइन । चितवन उहाँको गृहजिल्ला हो, त्यहाँका जनतासँग उहाँको विशेष लगाव छ । त्यसैले जान लाग्नुभएको हो ।’

सचिवालय बैठकको निर्णयलाई चुनौती दिँदै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिने अड्डी कसेपछि सभामुख चयनको विषयलाई लिएर महिनौंदेखिको ‘डेडलक’ तोडिन सकेको छैन ।

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिएपछि राज्यको जननिर्वाचित जनप्रतिनिधिको थलो प्रमुखविहीन भएको छ ।

प्रचण्डले पूर्व सहमति अनुसार नै नयाँ सभामुख पूर्व माओवादीबाट हुनुपर्ने अडान लिएका छन् । केही दिनअघि प्रचण्डको सक्रियतामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, संगठन विभागका प्रमुख वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच गौतम निवास भैंसेपाटीमा छलफल चलेको थियो ।

भैंसेपाटी भेलालाई लिएर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली त्यति सकारात्मक देखिएका छैनन् । भैंसेपाटीमा भएको भेला आफूविरुद्ध केन्द्रित रहेको ओलीको बुझाइ छ । भेलाले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउने अनौपचारिक सहमति गरेको थियो ।

जुन सहमतिलाई शनिवार ओलीको अनुपस्थितिमा बसेको सचिवालय बैठकले कार्यान्वयन गर्‍यो । ‘मेराविरुद्ध भेला गरेर उहाँले के प्रमाणित गर्न खोज्नुभएको हो ?’ ओलीले आफूनिकट नेताहरूसँग प्रश्न गर्ने गरेका छन् ।

यद्यपि बिहीवार प्रवक्ता श्रेष्ठले बालुवाटार पुगेर भेला अनौपचारिक मात्र रहेको र त्यस्तो कुनै गुटबन्दी नभएको प्रस्ट पार्न खोजेका थिए । शुक्रवार दुवै अध्यक्षबीच लामो समय छलफल भयो तर त्यसले विश्वासको संकट समाधान गर्न सकेन ।

 

शनिवार प्रधानमन्त्री ओली डायलासिस गर्न अस्पताल पुगे । डायलासिस गरेर आएपछि आफूले आराम गर्नुपर्ने भन्दै प्रचण्डलाई सचिवालय बैठक सुचारू गर्न सुझाव दिए ।

आइतवार बिहान ओली–प्रचण्डको छलफल चलिरहेका बेला तुम्बाहाङ्फे बालुवाटार प्रवेश गरिन् र राजीनामा नदिने पुरानो अडान डोहोर्‍याएर निस्किन् ।

प्रचण्डसँगको छलफलमा ओलीले तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने बताएपनि ओलीले नै तुम्बाहाम्फेको राजीनामा रोकेको प्रचण्डको बुझाइ छ । प्राविधिक रूपमा पार्टी एक भएपनि नेकपाभित्र ‘प्रचण्ड–नेकपा’ र ‘ओली–नेकपा’ कायमै रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

‘पार्टी पूर्ण रूपमा कहाँ एक भइसकेको छ र ?’ ती नेताले प्रश्न गरे, ‘महाधिवेशनसम्म पार्टी एक हुने कुरै हुँदैन । यस्तो अवस्थामा पूर्व सहमति पालना गर्नु नै उत्तम उपाय हो । त्यो भनेको सभामुख पूर्व माओवादी पक्षबाट हुनुपर्छ ।’

उनले प्रधानमन्त्री ओलीले ‘डबल स्ट्यान्डर्ड’ कुरा गरेको आरोप पनि लगाए । ‘मुखले चाहिँ तपाईंले सभामुख ल्याउनुस् भन्ने, व्यवहारले चाहिँ उपसभामुखलाई राजीनामा गर्न रोक्ने डबल स्ट्यान्डर्ड प्रवृत्ति देखियो उहाँमा,’ उनले भने ।

प्रचण्ड केही दिन सभामुखको सन्दर्भमा ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने मूडमा पुगेका छन् । तुम्बाहाङ्फेले पार्टीलाई चुनौती दिनु असामान्य रहेको आफूनिकट नेताहरूसँग गुनासो गर्ने गरेको स्रोतले दाबी गर्‍यो ।

‘प्रधानमन्त्री र राष्ट्रपति दुवैको पोजिसन क्लियर नहुने बेलासम्म यसबारेमा बाहिर नबोल्न आफूनिकट नेताहरूलाई कमरेड प्रचण्डले आग्रह गर्नुभएको छ,’ प्रचण्डनिकट स्रोतले भन्यो ।

सभामुख चयनका सन्दर्भमा ९ सदस्यीय सचिवालयमा प्रचण्डलाई आधाभन्दा बढी सदस्यको साथ रहेको छ । यही कारण सभामुखको उम्मेदवार छनोटमा प्रचण्डले ओलीमाथि दबाब बनाउन खोजिरहेको देखिन्छ ।

लोकान्तरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!