पर्वत– स्थापनाकालदेखिनै भाडाको घरमा संचालन हुँदै आएको नेपाली काँग्रेस पर्वत यतिवेला पार्टी कार्यालय स्थापनामा जुटेको छ ।
कुश्मा नगरपालिका वडा नम्बर ४ मा पार्टी कार्यालय निर्माण कार्य शुरु भएको हो । गत असोजदेखि निर्माण कार्य शुरु भएको कार्यालयको हालसम्म ३० प्रतिशत काम पुरा भएको छ । पार्टी कार्यालय निर्माणका लागि २०५४ सालमै १४ आनाको जग्गा खरिद गरिएको भएपनि हालसम्म कार्यालय भवन बन्न सकेको थिएन ।
साढे २ तल्लाको ६ कोठे भवन निर्माण कार्य थालिएको हो । भवन निर्माणका लागि कुश्मा नगरपालिकाले १० लाख, जलजला गाउँपालिकाले २० लाख रुपैया दिने प्रतिवद्धता जनाएका छन् भने अन्य सरकारी तवरवाट कुनै सहयोग नभएको भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५० लाख रुपैया भन्दा बढि रकम विभिन्न सहयोगदातावाट प्राप्त भएको छ ।
आगामी १४ महिनाभित्र भवन सक्ने लक्ष्य राखिएको भएपनि पर्याप्त रकम संकलन हुन नसकेको सो पार्टीले जनाएको छ । पार्टी कार्यालय निर्माणका लागि राखिएको प्रारम्भीक भेलामै झण्डै १ करोड रुपैया बोलकबोल भएको थियो । तर अहिलेसम्म पनि बोलेजति सवै नेता कार्यकर्ताहरुले उक्त रकम भुक्तानी नदिएको बताईएको छ ।
पर्वत काँग्रेसले भवन निर्माणका लागि जिल्लाका सातवटै स्थानीय तहमा कार्यकर्ता भेला राख्ने योजना समेत बनाएको छ । भवन निर्माण समितिका संयोजक एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीका अनुसार जिल्लाका सात वटै पालिका र पोखरा, काठमाडौमा भेला गर्ने निर्णय पार्टीले गरेको थियो ।
त्यस्तै बिपि स्मृति भवन निर्माणका लागि बिदेशस्थित विभिन्न देशहरुमा रहेका शुभेच्छुक तथा सामाजिक ब्यक्तिहरुलाई आर्थिक सहयोगका लागि अनुरोध गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । निर्माणाधिन भवनको धमाधम काम भइरहेको भवन निर्माण सचिवालयका प्रतिनिधि बरदान पौडेलले जानकारी दिए ।
भवन निर्माण सुरु भएपछि धेरै शुभेच्छुकहरुमा उत्साह जागेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भवन निर्माण समितिका संयोजक जोशीले बताए । १४ महिनाभित्र भवन निर्माण पुरा हुने लक्ष्य लिइएको भवनमा एक बृहत सभाहलसहित छ वटा कोठा हुनेछन् । भवनमा पार्टीका सबै पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थालाई कार्यालय सञ्चालन गर्न मिल्नेगरी ब्यवस्थापन गर्ने पनि संयोजक जोशीले जानकारी दिए ।
जिल्लामा सक्रिय दलहरु मध्ये तत्कालीन एमालेले झण्डै २ दशक अघि भवन निर्माण गरेको थियो भने तत्कालीन माओवादीले पनि ६२ सालपछि आफ्नै भवन बनाएको थियो ।