स्ववियु चुनाव नै हाम्राे पहिलाे मुद्दा : नेविसङ्घ - News site from Nepal
स्ववियु चुनाव नै हाम्राे पहिलाे मुद्दा : नेविसङ्घ
काठमाण्डाै – आउँदाे फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सक्रियरुपमा सहभागी हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को नयाँ नेतृत्वले स्पष्ट गरेको छ ।

नेविसङ्घका नवनियुक्त अध्यक्ष राजीव ढुङ्गानाले आफूहरुको पहिलो मुद्दा नै स्ववियु निर्वाचन भएकोले गएकाे १० वर्षदेखि हुन नसकेको चुनावमा सक्रिय भाग लिने बताउनु भयो । ‘हामी मनोनित हुना साथ हाम्रो पहिलो कार्यसूची नै स्ववियु चुनाव हो’ उहाँले भन्नुभयो, ‘चुनावमा सक्रिय भाग लिएर सफल बनाउछौँ ।’

उहाँले चुनावका सम्बन्धमा त्रिवि पदाधिकारीसँग पनि छलफल गरिरहेको पनि जानकारी गराउनु भयो । उहाँले स्ववियु चुनावकाे वातावरण बनाउन त्रिविलाई आग्रह गर्नुभयो । ‘त्रिविमा चुनाव गर्ने प्रमुख निर्वाचन अधिकृत भनेको रेक्टर हो’, उहाँले भन्नुभयो, ‘त्रिविले चाँडै रेक्टर नियुक्त गरेर स्ववियु चुनावकाे वातावरण बनाउनु पर्‍यो ।’

त्रिविमा २०६५ सालयता सबै क्याम्पसमा स्ववियु चुनाव हुन सकेको छैन । विसं २०७३ मा दुई सय ५० क्याम्पसमा स्ववियु चुनाव भएको थियो । अनेरास्ववियुका संयोजक ऐन महरले निर्धारित मितिमा नै स्ववियु चुनाव गर्न सबै विद्यार्थी सङ्गठनले प्रतिबद्धता जनाएकोले चुनाव हुने बताउनु भयो । ‘नेविसङ्घको नयाँ नेतृत्व पनि चुनाव गर्नमा सकारात्मक छ’, उहाँले भन्नुभयो, ‘हामी चुनावका सम्बन्धमा नेविसङ्घसँग छलफल गरिरहेका छौँ ।’

त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु चुनावकाे तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको छ । त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले चाँडै नै त्रिविले चुनावका सम्बन्धमा सबै विद्यार्थीसँग छलफल गरेर कार्यतालिका सार्वजनिक गर्ने बताउनु भयो ।

यसअघि त्रिविले फागनु १४ गते निर्वाचन मिति मानी प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु चुनाव २८ वर्षे उमेर हदबन्दी र मिस्रित निर्वाचन प्रणाली अनुरूप हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!