काँग्रेस केन्द्रीय सदस्य जोशी भन्छन् – ‘अबको चुनावमा टिकट चाहिदैन प्रचारप्रसार संयोजक भएर बस्छु’ - News site from Nepal

पर्वत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको आन्तरिक एकता यतिवेला निकै कमजोर अवस्थामा पुगेको वताउँदै पर्वत काँग्रेसभित्रको एकतालाई पुरानै अवस्थामा नपुर्याएसम्म आफूले विश्राम नलिने उद्घोष गर्नुभएको छ । ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पर्वतले आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता जोशीले उक्त कुरा वताउनु भएको हो ।

नेता जोशीले आफू २८ बर्षदेखि नेपाली काँग्रेसको संगठन निर्माणका लागि निरन्तर लागिरहेको उल्लेख गर्दै अब पार्टीबाट आफूलाई कुनै पदीय अपेक्षा नरहेको समेत प्रस्ट्याउनु भएको थियो । ‘अघिल्लो निर्बाचनमा पनि मलाई टिकट चाहिदैन साथीहरूले लिनोस् भनेकै हुँ तर तपाईंहरूले नै मलाई चुनाव लड्न आग्रह गर्नुभएको हो ।’– नेता जोशीले भन्नु भयो । उहाँले अबको निर्वाचनमा आफू प्रचारप्रसार समितिको संयोजक भएर पार्टीले टिकट दिएका उम्मेदवारलाई जिताउन लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेता जोशीले पार्टीमा भावनात्मक एकताको विकल्प नरहेको तर पार्टीका जागरण अभियान र पार्टीले आयोजना गरेका औपचारिक कार्यक्रमहरू बहिष्कार गर्ने र भवन निर्माण प्रक्रियामा अवरोध गर्नेहरूसँग एकता हुन नसक्ने घोषणा गर्नु भयो । उहाँले पार्टी कार्यालय भवन पर्वतका आम कार्यकर्ताको चाहना र प्रतिष्ठाको विषय भएको उल्लेख गर्दै काँग्रेसको आस्था र बिश्वाससँग जोडिएको विषयको विरुद्धमा मोर्चावन्दी गरेर हिँड्नेहरूलाई कार्यकर्ताले नै सजाएँ दिने दावी गर्नुभयो । नेता जोशीले नेकपा सरकारको नक्कली राष्ट्रवाद र अधिनायकवादी शासनशैलीबाट जनताहरु आत्तिइसकेको जानाकारी दिँदै काँग्रेसमा एकता भयोभने आगामी निर्बाचनमा कम्युनिष्टहरु स्वतः पराजित हुने निश्चित रहेको वताउनु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालले पार्टीलाई असफल बनाउन मोर्चावन्दी र गुटवन्दी संचालन गर्ने र पार्टी सभापतिले काम गर्न सकेन भनेर प्रचार गर्नेहरुले नै काँग्रेसलाई कमजोर बनाएको वताउँदै पार्टीहितमा संगठनले गरेका निर्णयहरुलाई अवरोध गरेर एकताको विन्दुमा पुग्न नसकिने दावी गर्नुभयो । सभापति भुसालले आफ्नो कार्यकालमा नेपाली काँग्रेसले पार्टी कार्यालय भवन बन्ने निश्चित भएपछि धेरैलाई निद्रा नलागेको वताउँदै यो भवन कुनै व्यक्ति विशेषका लागि नभएर काँग्रेसका लागि बन्न लागेकोले सबै काँग्रेसको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले वीपी कोइरालाले तत्कालीन परिस्थितिमा जुन उद्देश्यले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियार गर्नुभएको थियो ४४ वर्षपछि आज मुलुकमा त्यही परिस्थिति सिर्जना भएको दाबी गर्नुभयो । नेता गुरुङले कम्युनिष्टहरूको शासकीय दम्भका कारण देशमा राष्ट्रियता र लोकतन्त्रमाथि खतरा बढेको वताउँदै राष्ट्रलाई संकटबाट जोगाउन काँग्रेसका बीचमा भावनात्मक एकताको आवस्यकता रहेको कुरामा जोड दिनुभएको थियो । गुरुङले तर पार्टीभित्रको एकता मुखले भनेर मात्र नहुने वताउँदै एकताका लागि सबैमा सांगठनिक ईमान्दारिताको आवस्यकता रहेको धारणा राख्नु भएको थियो ।

सोही कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामा भावनात्मक बिचलन आएको दाबी गर्दै आफ्नै नेताको आलोचना गरेर समय बर्बाद हुँदा संगठन निर्माणजस्तो महत्वपूर्ण काम ओझेलमा परेको वताउनु भएको थियो । नगरप्रमुख जोशीले काँग्रेसलाई बलियो बनाउने हो भने आपसी अविश्वास र तिक्ततालाई त्यागेर संगठन सुदृढीकरणमा लाग्न सबै नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको थियो ।

नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन जिल्ला कार्य समिति सदस्य कुलप्रसाद उपाध्यायले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासुले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्यहरु देवीप्रसाद विलासी र शिवप्रसाद सुवेदीका साथै जिल्ला सल्लाहकार लोकनाथ आचार्य लगायतको उपस्थिति रहेको थियो । २०३३ साल पौष १६ गते मेलमिलापको नीति लिएर वीपी कोइराला प्रवासबाट नेपाल फर्केको दिनलाई नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।
समाचारवाणी डट.कम वाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!