पर्वतको जलजलाका पहिरो पिडितलाई घर हस्तान्तरण - News site from Nepal
पर्वतको जलजलाका पहिरो पिडितलाई घर हस्तान्तरण

पर्वत- जलजला गाउँपालिकाका २२ परिवार पहिरो पिडितहरुलाई मंगलबार घर हस्तान्तरण गरिएको छ । २०७५ साउन १ गतेको बाढी, पहिरो पिडितलाई असल छिमेकी नेपाल, पोखरेली ख्रिष्टियन समुदाय, सिजिके र आइएनफए संस्थाको सहयोगमा निर्माण भएका घर हस्तान्तरण गरिएको हो ।
जलजला गाउँपालिका–८ बेरनेटामा मा १७, ७ लस्तीमा ४ र ४ मिलनचोकमा एक वटा पहिरो पिडितका लागि दुई कोठे घर निर्माण भएको छ । ९३ लाख ९४ हजार रुपैयाँ लागत अनुमान गरिएको पहिरो पिडितको घर पुननिर्माणका लागि ७९ लाख २८ हजार रुपैयाँ बराबरको सिमेन्ट, रड, जस्तापाता लगायत निर्माण सामग्री सहयोग गरिएको हस्तान्तरण कार्यक्रममा जानकारी गराइएको थियो ।
व्यक्तिले चर्चेका सार्वजनिक जग्गामा उनिहरुलाई हटाएर सुकुम्बासी पिडितहरुलाई प्रतिघर साढे दुई आनाका दरले घर बनाउन जग्गा उपलब्ध गराएको जलजला ८ का वडा अध्यक्ष हरिबिकास जिसीले बताउनुभयो । संस्थाको निर्माण सामग्री र प्राबिधिक सहयोगमा पिडित आफैले घर पुननिर्माण गरेका वडा अध्यक्ष जिसीले बताउनुभयो ।
घर पुननिर्माण भएपछि आफन्तकहाँ र डेरामा बस्नुपर्ने समस्या हटेकोमा पिडितहरुले खुसी व्यक्त गरेका छन् । केही पडितहरुले पहिलेको पहिरो नथामिएका कारण दाताको सहयोगमा नयाँ घर बनाएपनि असुरक्षाका कारण तत्काल त्यहाँ बस्न नसकिने बताएका छन् ।
पहिरो पिडितहरुलाई घर हस्तान्तरणका लागि आएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र पर्वतकी प्रजिअ कल्पना घिमिरेले असुरक्षित ठाउँमा घर बनाउने खर्चले सुरक्षित ठाउँमा जग्गा खोजेर उपलब्ध गराउन सकेको भए राम्रो हुने बताउनुभयो ।मन्त्री बस्नेतले जोखिम भएको ठाउँमा पहिरो नियन्त्रणको काम गर्न प्राबिधिकलाई निर्देशन दिइसकेको बताउँदै पालिका र दाताले खोल्सामा पर्खाल लगाउन, अग्ला पिडिका डिलमा रेलिङ हालेर सुरक्षित र बस्न लायक बनाउन आग्रह गर्नुभयो ।
लामाखेतमा औपचारिक कार्यक्रम गरेर पहिरो पिडितलाई घर निर्माण भएको प्रमाणपत्र र चावी वितरण गरिएको थियो । अधिकांश पहिरो पिडित दलित समुदायका छन् । भिरको फेदीको पाखोमा घर बनाएर बस्दै आएका उनिहरु सुकुम्बासी हुन् ।जलजला गाउँपालिकाका कार्यवाहक अध्यक्ष भिष्म मल्लको अध्यक्षता, असल छिमेकी नेपालका दिनेश केसीको सञ्चालन र नाग्लीवाङका वडा अध्यक्ष हरिबिकास जिसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रजिअ कल्पना घिमिरे, गैरसरकारी संस्था महासंघका सचिव देविप्रसाद तिमिल्सीना, जलजला–७ का वडा अध्यक्ष टुङ्गनाथ शर्मा, पोखरा ख्रिष्टियन समाजका पास्तर हरिराम घिमीरे, लाभग्राही वुद्धी परियार र असल छिमेकी नेपालका राजेन्द्र भण्डारीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!