पर्वत– पर्वतको विहादी गाउँपालिकामा गएराभती सात वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
विहादी गाउँपालिका वडा नं. ५ उरामको खोरोपोखराकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्लाको पैयूँ गाउँपालिका ६ सरौँखोला घर भएका सुरजले खोरोपोखरामा रहेको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यका अनुसार सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेको स्वीकार छन् ।
घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरेको हो । पीडित बालिकालाई स्वास्थ्य परीक्षणको लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको छ । पक्राउ परेका सुरजसँग घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख स्यामु अर्यालले जानकारी दिए ।