
पर्वत– आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको तयारी तीब्र पारिएको छ ।
महायज्ञ शुरु हुने दिन दुई साता मात्र बाँकी रहँदा सवैजसो तयारीहरुलाई तीब्र पारिएको आयोजकले जनाएको छ । प्रचारप्रसार, मञ्च तथा महायज्ञ स्थल व्यवस्थापन, तुलादान गर्ने र आयोजक बन्नेहरुलाई फारम वितरण लगायतका सवैजसो तयारीहरुमा जुटेको आयोजकले जनाएको छ ।
यसैबीच मंगलवार बागलुङ र म्याग्दीमा अन्तरक्रिया सम्पन्न भएको छ । बागलुङ उद्योग बाणिज्य संघका सभाहलमा भएको कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले महायज्ञ संचालन गर्नुको उद्धेश्य, तुलादान, कोटीहोमको महत्व र अहिलेसम्मको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले महायज्ञ अवधिभर सहभागि भएर कथा श्रवण, तुलादान र कोटीहोमनमा सहभागि भई पुण्य कमाउन पनि आग्रह गर्नुभयो ।
त्यस्तै पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारथ शर्माले मुख्यगरी पर्वत लगायत धौलागिरि क्षेत्रका पर्यटन प्रवद्र्धन सँगै धार्मिक पर्यटकहरुलाई भित्र्याउनका लागि महायज्ञ आयोजना गरिएकोले सवैलाई आवश्यक सहयोगका लागि आव्हान गर्नुभयो ।
बागलुङ उद्योग बाणिज्य संघकाम अध्यक्ष युवराज राजभण्डारीले धार्मिक आस्थावान हिन्दुहरुका लागि यो क्षेत्र पवित्र भएकाले यसको प्रवद्र्धनका लागि आयोजना गरिएको महायज्ञका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले आर्थिक, भौतीक र नैतिक रुपमा सहयोग र सहभागि हुने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी म्याग्दीमा आयोजित कार्यक्रममा पनि महायज्ञका विषयबस्तुका बारेमा संयोजक पृथ्वीनारायण शर्माले जानकारी गराउनुभएको थियो । सहभागिहरुले तुलादान, कोटीहोम लगायतका बारेमा जिज्ञासा राखेकमा थिए । सो अवसरमा महायज्ञ आयोजक समितिका बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्मा, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतले बोल्नुभएको थियो ।
अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन लागिएको हो । देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएकोे छ । अहिलेसम्म शिव या पार्वतीको मुर्तिमात्र छुट्टाछुट्टै बनाईरहेका बेला पर्वतमा पहिलोपटक संयुक्त मुर्ति स्थापना गरिने भएको संयोजक शर्माले बताए । मुर्तिसँगै धर्मशाला र शिश महल समेत निर्माण गर्न लागिएको छ । एघार दिनसम्म संचालन हुने महायज्ञबाट रु.१० करोड भन्दा बढि संकलन गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञमा ६ हजार भन्दा बढी व्यक्तिद्वारा तुलादान तथा रु. १ करोड अग्नी हुमन सञ्चालन हुनेछ । नेपालमा कमै मात्रामा हुने कोटीहोम सहितको तुलादानमा जुनसुकै जातजाती र धर्म सम्प्रदायका व्यक्रिहरुले तुलादान गर्न पाउने भएका छन् । आर्थिक रुपमा सक्षम व्यक्तिले पैसा तिरेर तथा विपन्न र असहाय व्यक्तिहरुले निःशुल्क तुलादान गर्न पाउने बरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो । कार्यक्रमको संचालन महासचिब अच्युत तिवारीले गर्नुभएको थियो ।