
पर्वत– नाम गोपाल श्रेष्ठ, उमेर साठी वर्ष, काम मजदुरी । न खानाको ठेगान, न बास बस्नको । यस्तै दयनिय अवस्थामा पर्वत सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोक वरिपरी निकै व्यस्त देखिने व्यक्ति हुन् कुश्मा नगरपालिका वडा नं. ४ अर्मादीका गोपाल श्रेष्ठ ।
उमेरले साठी वर्ष पुगेका उनको दैनिक संसारका ब्यस्त मानिसहरुको भन्दा कम छैन । विहान उज्यालो भएदेखि साँझ नपरुन्जेल उनि विभिन्न थरिका काममा व्यस्त हुन्छन् । प्रायगरी किराना पसलबाट वरिपरीका व्यक्तिको घरमा वा कोठामा ग्याँस, चामलका बोरा, तरकारी दाल पु¥याउनु, कुटानी पिसानीका लागि धान लगायतका अन्नपात बोकेर मिलमा जानु र फर्किनु लगायतका साना तिना कामले उनलाई फुर्सदै मिल्दैन ।
बहिरा अपाङ्गता भएका उनि झण्डै तीस वर्षदेखि कुश्माबजारमा यस्तै यस्तै कामले व्यस्त छन् । जन्मजात सुस्त मनस्थितिका उनि बोल्न सक्दैनन् तर इशाराले भने सवै कुरा बुझ्न सक्छन् । र इशाराकै भरमा उनलाई समाजका व्यक्तिहरुले काममा लगाउँछन् । काम गराएवापत कस्तो काम हो त्यहि अनुसार न्यूनतम रु १० रुपैयादेखि एक सय ५० रुपैया सम्म उनले ज्याला पाउने गर्दछन् । सायद बोल्न नसक्ने भएरै होला उनको कामको ज्यालाको कुनै दर छैन । जसलाई जति दिन मन लाग्यो, त्यतिनै दिन्छन् ।

श्रेष्ठका बाबुको सानैमा मृत्यु भैसक्यो, बृद्ध आमा यस्तै वाक अपाङ्गता भएकी छन् भने दाजुभाईहरु भने एक जना भारतमा र एक जना घरमै छन् तर पनि उनलाई हेर्दैनन् । कर्मशिल उनको यो दैनिकीलाई देखेरे विगत तीन महिना अघि कुश्माबजारका समाजसेवी कमलनाथ पोखरेलको अगुवाईमा नागरिकताको प्रमाणपत्र बनाईयो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको विशेष पहलमा उनलाई नागरिकता दिलाउन सफल भएको हो । श्रेष्ठको दयनिय अवस्था देखेर नागरिकता दिलाउनका लागि पहल गरिएको प्रजिअ ढकालले बताउनुभयो ।
गत तिहार ताकाको कुरा हो उनले कुश्माबजारमै भारी बोक्ने क्रममा बाटोमा हातमा लगाउने ब्रासलेट (चेन) भेट्टाएका थिए ।
लामो समय चेन भेट्टीएको सार्वजनिक सुचना जारी गर्दापनि कोहि सम्पर्कमा नआएपछि स्थानीय सरोकारवालाहरुले उक्त सुन भेट्टाएकै व्यक्तिको नाममा जम्मा गरिदिँदा कल्याण हुने ठानेर पहिलोपटक बैंक खाता खोलिदिएका हुन् । उनले १० दशमलब ७८ ग्राम अर्थात ८९ दशमलब ४ रतीको सुनको सिक्री भेटाएका थिए । उक्त सुन बिक्रि गरेर प्राप्त भएको रु ५२ हजार पाँच सय रुपैयाले बहिरा अपाङ्गता भएका श्रेष्ठको नाममा कुश्मामै रहेको गरिमा बिकास बैंकमा खाता खोली रकम जम्मा गरिएको समाजसेवी कमलनाथ पोखरेलले जानकारी दिए ।
उनका अनुसार अहिले हात पाखुरा बलियो रहुन्जेल काम गरेर खान सकेपनि पछि बुढेसकालमा सोहि रकमले दिनचर्या गर्न सकोस् भनेर बैंकमा खाता खोलेर पैसा जम्मा गरिदिएको हो । साठी वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकताको प्रमाणपत्र बुझ्दा निकै दंग परेका श्रेष्ठ भेट्टिएको सुन बेचेर मंगलवार बैंकमा पैसा जम्मा गर्दा उस्तै खुसि भएका थिए ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, वडा नं. ५ का अध्यक्ष अध्यक्ष चित्रकला शर्मा, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, अपाङ्ग उत्थान समाजका जगननाथ शर्मा, समाजसेवी पोखरेल, देव शर्मा लगायतका व्यक्तिहरुको रोहवर र पहलमा बैंकमा रकम जम्मा गरिएको हो । उक्त रकममा अझै सहयोगीहरुबाट थप गरेर कम्तिमा एक लाख पु¥याईदिने योजना रहेको पोखरेलले जानकारी दिए ।
श्रेष्ठले दैनिक रुपमा रु ५ सय रुपैयादेखि रु एक हजार रुपैया सम्म कमाई गर्ने भएपनि अधिकांस पैसा चोरी हुने गरेको स्थानीयको भनाई रहेको छ । उनी बजारमा नदेखिँदाको दिन धेरै काम गर्न समस्या हुने व्यावसायी देब शर्माले बताए । यस्ता दुःखी गरिबीको नाममा थोरै भएपनि रकम बैंकमा जम्मा गरिँदीदा धर्म प्राप्त होला भनेर सवै मिलेर परोपकारी काम गरेको उनको भनाई रहेको छ ।