पर्वतको प्रसिद्ध मोदीबेनीमा दुई करोडको अक्षयकोष - News site from Nepal
पर्वतको प्रसिद्ध मोदीबेनीमा दुई करोडको अक्षयकोष

पर्वत ।  पर्वत र बागलुङ जिल्लाको सिमानामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र मोदीबेनीमा जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि दुई करोड रुपैयाँको अक्षयकोष बनाईने भएको छ । गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा अक्षयकोष बनाउन लागिएको हो । जेष्ठ नागरिक आश्रम बनाएपनि दैनिक खर्च चलाउन समस्या भएपछि रकम संकलन गरि अक्षयकोष बनाएर खर्च चलाउन थालिएको आश्रम सञ्चालक समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठले जानकारी दिनुभयो । 
गैह्र आवासीय नेपाली संघले दुई करोड रुपैयाँ सम्मको अक्षयकोष बनाउन सुझाव दिएपछि बैँकमा खाता खोलिएको श्रेष्ठले जानकारी दिनुभयो । कोषमा शुरुवातमा एक लाख रुपैयाँ नेपाली जनसम्पर्क समिति बेल्जियमले पठाएको रकम जम्मा गरिएको श्रेष्ठले बताउनुभयो ।  मोदीबेनीमा शालग्राम महायज्ञ सञ्चालन गरि त्यसैबाट संकलित रकमले यहि असोजमा जेष्ठ नागरिक आश्रम बनाईएको थियो । आश्रमको उद्घाटन गर्न आउनुभएका एनआरएनएका अध्यक्ष भवन भट्टले अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले व्याक्तिगत रुपमा तीन लाख समेत सहयोग गर्ने बताउनुभएको थियो । 
गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार गोबिन्द सुबेदीका अनुसार अहिले बिदेशमा रहेका गैह्र आवासीय संघसंस्था र व्याक्तिबाट अक्षयकोषका लागि रकम संकलन गर्ने अभियान शुरु भएको छ । ‘हामी मोदीबेनी संग जोडिईसकेका छौँ, सुबेदीले भन्नुभयो,’ मोदीबेनीको बिकासका लागि हामीले सक्दो सहयोग गर्नैपर्छ ।’ सुबेदीले जन्मभूमीमा हुने बिकासका काममा आफुहरु संधै तयार रहेको बताउनुभयो । यहीँ आएर हड्डि फाल्ने बाचा गरेका छौँ, सुबेदीले भन्नुभयो,’ बृद्धाश्रममा एउटा कोठा समेत बुक गरिसकेको छु । सहयोग नगरि हामी भाग्नै मिल्दैन । हामी पानीमुनी छिरेर पनि कोषलाई दुई करोड बनाउँछौँ ।’ एनआरएनएका अध्यक्ष भवन भट्टले असोज २३ गते जेष्ठ नागरिक आश्रमको उद्घाटन गर्नुभएको थियो । 
पर्वत र बागलुङ जिल्लाका अगुवाहरुको भेलाले सञ्चालक समिति बनाएर कोष खडा गरेका हुन् । दैनिक खर्चको अभाव भएपछि सञ्चालक समितिले स्थानीय , प्रदेश र संघ सरकार संग आर्थिक सहयोग माग गरेका छन् । त्यस्तै ग्रैह आवसीय नेपाली संग पनि सहयोग माग गरेका छन् । मोदीबेनी जेष्ठ नागरिक आश्रम बिकास समितिको आग्रह अनुसार बेल्जियमबाट पठाएको १ लाख रुपैयाँ कोषमा जम्मा गरिएको छ । राष्ट्रिय बाणिज्य बैँकमा खाता सञ्चालन गरि अक्षयकोष बनाइएको मोदीबेनी जेष्ठ नागरिक आश्रम सञ्चालक समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठले जानकारी दिनुभयो । 
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले १ लाख रुपैयाँ सहयोग गर्ने बचन दिनुभएको छ । उहाँहरुले उक्त रकम व्याक्तिगत रुपमा सहयोग गर्ने आश्वसन दिनुभएको र संस्थागत रुपमा अन्य सहयोग आउने अपेक्षा गरेको मोदीबेनी जेष्ठ नागरिक आश्रम विकास समितिका सदस्य कमलकुमार जिसीले बताउनुभयो । 
अक्षयकोषको रकम बढाउन बागलुङ नगरपालिकालाई पनि अनुरोध गरिएको छ । पर्वतको फलेवास नगरपालिकाले पनि सहयोग गर्ने बाचा दिएकाले फलेवासमा पनि सहयोगका लागि अनुरोध गरिने जिसीले बताउनुभयो । मोदीबेनीमा पुल बनाउने योजना रहेको छ । कालीगण्डकी नदीको बायाँ तर्फ पर्वत र दायाँ तर्फ बागलुङ जिल्लामा मोदीबेनी फैलिएको छ । 
बागलुङ नगरपालिका १४ देवलबगरमा जेष्ठ नागरिक आश्रम स्थल बनाईएको छ । पर्वत तर्फ २०६८ सालदेखी जेष्ठ नागरिक आश्रम सञ्चालन भैरहेको छ । पुल बनेपछि पर्वत तर्फ रहेको बृद्धाश्रम बागलुङमा बनेको आश्रममा स्थानान्तरण गर्ने तयारी छ । पुल नहुँदा र सञ्चालनका लागि खर्च अभाव भएपछि आश्रम प्रयोगमा आउन सकेको छैन । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पुल बनाउन र कुश्माबाट मोदीबेनीसम्म जाने सडक स्तरउन्नती गर्न थालिएको बताउनुभयो । नगरपालिकाले बिकासका काममा सहकार्य गर्दै आएको जोशीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!