नेकपाको ४१ जिल्लामा टुंगियो एकता, यस्तो छ भागबन्डा, गण्डकीमा केन्द्रबाट टुंगिएर आएपछि मात्र - News site from Nepal

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ४१ जिल्लाका स्थानीय तहको एकता टुंगिएको छ। गण्डकी प्रदेशका जिल्ला बाहेक अन्य प्रदेशका स्थानीय तहमा एकता प्रक्रिया अघि बढेको हो।
अहिलेसम्म प्रदेश १ को ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटामा एकता टुंगिएको छ । यसैगरी प्रदेश २ का आठै जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको भागबन्डा पनि करिब टुंगिएको छ। प्रदेश २ मा दुवै पूर्ववत् घटकहरूलाई बराबरी प्रतिनिधित्व गराउने गरी सैद्धान्तिक सहमति भएको छ।
प्रदेश ३ को दोलखा, सिन्धुली, रसुवा, रामेछाप र ललितपुरका स्थानीय तहमा एकताको भागबन्डा टुंगिएको छ। गण्डकी प्रदेशले भने जिल्ला तहको एकता भागबन्डा केन्द्रबाट टुंगिएर आएपछि मात्र स्थानीय तहमा टुंग्याउने गृहकार्य अघि बढाएको छ । सो प्रदेशका कुनै पनि जिल्लामा स्थानीय तहको एकता टुंगो लागेको छैन ।
प्रदेश ५ मा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, परासी, पाल्पा, गुल्मी, अर्खाघाँची, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, जाजरकोट र मुगुका स्थानीय तहमा भागबन्डासहितको एकता प्रक्रिया टुंगोमा पुगेको छ। सुदुरपश्चिम प्रदेशको कैलाली, डडेलधरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा स्थानीय तहको एकता टुंगिएको छ।
यस्तो छ भागबन्डा
बाजुरका ९ स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले अध्यक्ष लिने सहमति भएको छ। बैतडीका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व लिने समझदारी भएको छ।
प्युठानमा पूर्वएमालेले ५ र पूर्वमाओवादीले ४ ओटा स्थानीय तहमा नेतृत्व लिने गरी भागबन्डा टुंगिएको छ। दोलखाका नौ स्थानीय तहमध्ये ५ तह पूर्वएमाले र ४ तहमा पूर्वमाओवादीले नेतृत्व लिने गरी सहमति बनेको छ।
सिन्धुलीका दुई नगरपालिकासहित ९ ओटै स्थानीय तहमा पनि एकता टुंगिएको छ। जिल्लाका दुवै नगरपालिकासहित ५ स्थानीय तह पूर्वएमाले र चार गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व पाएको छ।
पाल्पाका १० स्थानीय तहमध्ये ६ मा पूर्वएमाले र ४ मा पूर्वमाओवादीले नेतृत्व पाएको छ। गुल्मीका १२ स्थानीय तहमध्ये ७ वटामा पूर्वएमाले र ५ वटामा पूर्वमाओवादीले नेतृत्व गर्ने सहमति बनेको छ।
रोल्पाको १० स्थानीय तहमध्ये ४ स्थानीय तहको अध्यक्ष पूर्वएमाले र ६ स्थानीय तहमा पूर्वमाओवादीले नेतृत्व लिने भएको छ।
रामेछापका आठ तहमध्ये ५ मा पूर्वएमाले र ३ मा पूर्वमाओवादीले नेतृत्व लिनेछ। ताप्लेजुङका ९ स्थनीय तहमध्ये पूर्वएमालेबाट पाँच पूर्वमाओवादीले चार तहको नेतृत्व गर्नेछन्।
भोजपुरका ९ तहमध्ये ५ वटामा पूर्वएमाले र ४ वटामा पूर्वमाओवादीले नेतृत्व लिने सहमति भएको छ। झापाका १५ स्थानीय तहमध्ये ६ मा पूर्वमाओवादी र ९ तहमा पूर्वएमालेले नेतृत्व लिने सहमति बनेको छ। त्यस्तै मोरङका १७ मध्ये विराटनगर महानगरपालिकाबाहेक १६ स्थानीय तहको एकता प्रक्रिया टुंगिएको छ। १६ तहमध्ये तत्कालीन एमालेले ९ तह र माओवादीले सात तहको नेतृत्व गर्नेछन्।
पाँचथरका ८ स्थानीय तहमध्ये ५ तहमा पूर्वएमाले र ३ तह पूर्वमाओवादीले नेतृत्व पाएका छन्। डडेलधुराका सात स्थानीय तहमध्ये ४ तहमा पूर्वएमाले र ३ वटा तहमा तत्कालीन माओवादी केन्द्रको नेतृत्व गर्नेछन्। दाङका १० तहमध्ये ६ को नेतृत्व एमाले र ४ मा माओवादीको नेतृत्व रहने छ। दार्चुलाका ५ तह पूर्वएमाले र ४ तह पूर्वमाओवादीको भागमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!