पर्वत–नेपाल कम्युनिष्ट पार्टी पर्वतको आयोजनामा शहिद सप्ताह कार्यक्रम मनाईएको छ । नेकपाको कार्यालयमा मंगलवार विहान एक कार्यक्रमको आयोजना गरी शदिहरुको स्मरण गरिएको हो । तत्कालीन झापा विद्रोहका शहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राज वंशी, नारायण श्रेष्ठ र कृष्ण कुईकेल तथा महान जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेल लगायतको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० पर्वतले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले शहिदको बलिदानबाटै मुलुक अहिले परिवर्तनको दिशामा अघि बढेको बताउनुभयो । उहाँले शहिदहरुको योगदानलाई कम्युनिष्टहरुले कहिल्यै भुल्न नहुने बताउनुभयो । जुनसुकै परिवर्तनका लागि पनि कोहि न कोहि व्यक्ति शहिद बन्नुनै पर्ने भएकाले राष्ट्रले उनिहरुको सदैव सम्मान गर्नुपर्ने बताउनुभयो । नेता हमालले मुलुकको सम्पुर्ण बागडोर यतिवेला नेकपाले सम्हालिरहेको बताउँदै अबको पाँच वर्षमा मुलुकको विकासले फड्को मार्ने बताउनुभयो । उहाँले पहिलो वर्ष सरकारले देखिने गरी काम गर्न नसकेपनि आधारहरु तयार पारेको बताउँदै अब भने तीब्र गतिमा मुलुकको समृद्धि र विकासका लागि काम हुने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले शहिदहरुले कोरेको मार्गमा पार्टी सदैब हिड्नुपर्ने बताउनुभयो । उहाँले नेकपाले सँधै शहिदहरुको सम्मान गर्ने बताउँदै अब यो मुलुकको परिवर्तनका लागि नेकपाको विकल्प नभएको बताउनुभयो । उहाँले मुलुकको समृद्धि र विकास गर्नका लागि नै जनताले नेकपालाई दुई तिहाई मत दिएको बताउँदै जनताको आशा, उत्साह र अपेक्षालाई मर्न नदिनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले शहिदहरुकै बलिदान र विगतका विभिन्न आन्दोलनले मुलुकमा परिवर्तन आएको बताउँनुभयो । उहाँले तीन तहका सरकार बन्न पनि जनआन्दोलनकै उपज भएको बताउँदै तीनै तहमा शहिद सप्ताह मनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका जिल्ला नेता भक्त कुँवर, कुश्मा नगर कमिटि संयोजक शंकर गिरी लगायतले बोल्नुभएको थियो । सो अवसरमा शहिदहरुको तस्विरमा माल्यार्पण पनि गरिएको थियो ।