पर्वतका ग्रामीण सडकमा यात्रा गर्दा कति तिर्ने भाडा ? बढि लिएमा ठाउँको ठाउँ कारवाहि - News site from Nepal

पर्वत–पर्वत जिल्लाका ग्रामीण क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडादर समायोजन गरिएको छ । ग्रामीण क्षेत्रमा सञ्चालित यात्रुबाहक सवारीसाधनले चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको जिल्ला भाडादर निर्धारण समितिको बैठकले भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
पर्वतमा रुट परमिट कायम गरिएका सडकमा प्रतिकिमी बसका लागि सात रुपैयाँ पचास पैसा, जिपका लागि आठ रुपैयाँ पचास पैसा तोकिएको छ । तोकिएको भाडादर कायम गराउन सबै स्थानीय तहलाई परिपत्र गरिने र सोहीअनुसार कार्यान्वयन गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । तोकिएको भाडादर लागू भएमा अहिले सवारीसाधनले लिँदै आएको भाडामा धेरै घट्ने र सर्वसाधरण यात्रुले राहत पाउनेछन् ।
सदरमुकाम कुस्माबाट दैनिक रूपमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका र विहादी गाउँपालिका तथा कुस्माबाट दुलुङ, बनौ, पातीचौरबाट क्याङ, भूक देउराली, मिलनचोक र बारीबेनीबाट जलजला गाउँपालिकाका विभिन्न ठाउँमा जाने तथा विभिन्न नाकाबाट भित्रिने सवारीसाधनले अनिवार्य रुपमा तोकिएको भाडादर लागू गर्नुपर्ने निर्णय भएको छ । भाडादर लागू नगरेमा नियमानुसार कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पक्की सडक भए पनि भाडादर नघटेको भन्दै दक्षिण चल्ने सवारीसाधनका यात्रुले गुनासो गर्दै आएका छन् । हाल सदरमुकाम कुश्मादेखि साइकल चोकसम्मको बाटो कालोपत्र भइसकेको छ भने मुडिकुवादेखि लमायखोलासम्मको बाटो पनि कालोपत्र गरिसकिएको छ । सदरमुकाम कुश्मादेखि फलेवाससम्मको सडक झण्डै १९ किमी छ, यसमध्ये बीच भागमा ५०० मिटर सडक मात्र कालोपत्र गर्न बाँकी छ । यो रुटमा चल्ने जिपले रु २५० र बसले रु २०० सम्म भाडा लिने गरेका छन् । यस्तै, लिमिठानाबाट कुश्मा चल्ने जिपले रु ३०० र बसले रु २५० भाडा लिने गरेका छन् ।
कच्ची बाटो हुँदा र बाटो कालोपत्र भइसक्दा पनि एउटै भाडा तिर्नुपर्ने अवस्थामा रहेका स्थानीयवासीले चाँडोभन्दा चाँडो भाडा समायोजन गराउनुपर्ने माग गर्दै आएका थिए । पर्वतका सात स्थानीय तह र ६१ वडामा गरी झण्डै एक हजार ५०० किमी सडक छ । ती सडकमा हिउँदमा नियमित रूपमा सवारीका साधन सञ्चालन हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!