महिला महोत्सवको प्रचारका लागि स्कुल अभियानमा चापागाईँ - News site from Nepal
महिला महोत्सवको प्रचारका लागि स्कुल अभियानमा चापागाईँ

पर्वत– पर्वतको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी एफ.एम.ले गर्न लागेको महिला महोत्सवको बिषयमा आज पर्वतका २ ओटा विद्यालयमा पुगेर जानकारी प्रदान गरिएको छ ।
रेडियोकी अध्यक्ष कल्पना चापागाईँले दिनुभएको जानकारी अनुसार सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालय र मोदी गाउँपालिकामा रहेको देउपुर नमूना अंग्रेजी आवासिय माध्यमिक विद्यालयमा पुगेर जानकारी गराईएको हो ।
रेडियोको आयोजनामा हुन लागेको महोत्सवमा विद्यालय तहका बालबालिकाहरु पनि सहभागी हुन मिल्ने खालका प्रतियोगिताहरु राखिएका कारण पर्वत जिल्ला सहित जिल्ला बाहिरका बिद्यालयहरुमा पनि पुगेर विद्यालय र विद्यार्थीहरुलाई महोत्सवको बारेमा जानकारी गराईएको हो । आज दुई ओटा बिद्यालयमा भएका कार्यक्रममा बोल्दै रेडियोकी अध्यक्ष कल्पना चापागाईँले रेडियोले महोत्सवका अवसरमा आयोजना गर्न लागेका बिभिन्न प्रतियोगितामा सहभागी भएर बिद्यार्थीहरुले शारीरिक, मानसिक र संवेगात्मक विकास गर्न सक्ने उल्लेख गर्नुभयो । महिलाहरुको व्यवस्थानमा मात्र संचालित रेडियोले हरेक बर्ष महोत्सवको आयोजन ागर्न सफल हुनुमा सबैको साथ र समर्थ रहेको भन्दै सबैप्रति आभार पनि ब्यक्त गर्नुभयो ।
रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम यही माघ २५ देखि फाल्गुण ५ गते सम्म हुँदै छ महोत्सवको आकर्षणको रुपमा तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको २८, २९ र फागुन १ गते तीन दिन सम्म चल्नेछ । गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित छ ।
यसपटक अन्य २ क्लब पनि थप हुन सक्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेल हुनेछ । यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् ।
भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोले जनाएको छ । २०६६ साल फागुन २४ गते १०९ औं अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!