पर्वत– महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मामा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
पर्वतमा सामाजिक क्षेत्रमा कृयाशिल एकता युवा क्लवको आयोजनामा तीजको अवसरमा महिलाहरुको खेलकुद, सम्मान तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले परम्परागत संस्कृतिको जगेर्ना गर्नका लागि नगरपालिका सँधै तत्पर रहेको बताउँदै यस्ता चाडपर्वहरु नेपालीहरुका अमुल्य निधि भएको बताउनुभयो । उहाँले चाडपर्वलाई तडक भडक नगरी मौलिकतामै मनाउनुपर्नेमा जोड दिँदै सम्पुर्ण दिदीबहिनीहरुमा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले मौलीक संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै महिलाहरुको महान पर्वलाई स्वतन्त्रतापूर्वक मनाउन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता संस्कृतिहरुलाई बचाईराख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी, कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्मा, कुश्मा नगरपालिका वडा नं. ४ का अध्यक्ष मिना कर्माचार्य, क्लवका संस्थापक सल्लाहाकार बसन्तबहादुर सिके, पूर्व अध्यक्ष अच्युत तिवारी लगायतले बोल्नुभएको थियो । क्लवका अध्यक्ष नरेन्द्र बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष बिजय चापागाई र संचालन सचिब गोकुल चापागाईले गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य दर खाने कार्यक्रमका मुल संयोजक उमा सापकोटाले व्यक्त गर्नुभएको थियो ।
केहि समय अघि जिल्ला प्रशासन कार्यालयले भड्किलो तीज नमनाउन जारी गरेको सूचनालाई चुनौती दिँदै उक्त क्लवले वर्षौदेखि गर्दै आएको दर खुवाउने कार्यक्रममा एक हजार भन्दा बढि महिलाहरुलाई दर खुवाएको हो । सो अवसरमा नाचगान तथा विभिन्न प्रतियोगिता पनि सम्पन्न भएका थिए ।